केही दिनबाट बढेको गर्मीले आज पनि निरन्तरता पाउने भएको छ । देशका धेरै भूभागमा सुक्खा हुँदा गर्मी बढेको हो । ‘आज र भोलिसम्म तापक्रम बढ्ने देखिन्छ । भोलि रातिबाट पानी पार्ने प्रणाली अलि धेरै विकास हुनेछ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहाल भन्छन्, ‘आज र भोलि दिउँसोसम्म देशका धेरै स्थानमा वर्षा हुने छैन ।’
भोलिबाट हल्का वर्षा गराउने प्रणाली विकास भएर बुधबारबाट वर्षा हुने उनको भनाइ छ । मौसमविद् विनोद पोखरेल पनि आज र भोलि गर्मी हुने बताउँछन् । आज र भोलि आइतबारको भन्दा गर्मी हुने उनको भनाइ छ । ‘आज र भोलि अझै गर्मी बढ्ने देखिन्छ । सोमबार वर्षाको सम्भावना देखिँदैन । तर, मंगलबारदेखि हल्का वर्षाको सुरुवात हुन्छ,’ मौसमविद् पोखरेल भन्छन् ।
उनका अनुसार पर्सी बुधबारदेखि तापक्रम घट्दै जान्छ र वर्षा बढ्दै जान्छ । यो हप्ताभरमा मनसुनले लगभग नेपाल पूरै यात्रा गर्ने सम्भावना छ । बिहीबारदेखि केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको उनले प्रष्ट पारेका छन् । जेठ १५ गते कोसी प्रदेशमा भित्रिएको मनसुन त्यसभन्दा अगाडि बढ्न सकेको छैन ।
यसैबीच, आज काठमाडौंको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् दाहालले जानकारी दिए । आज दिउँसो कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने बताएको छ । कोसी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं