२०८२ मंसिर २९ , सोमबार 15, December 2025, Monday

चरन क्षेत्रको विवाददेखि बजार अभावले मौरीपालक किसान निराश

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २६ गते सोमबार
मुढामा कृत्रिम रुपमा बनाएको पुत्काको घार देखाउँदै पुरमल बस्नेत ।

पछिल्लो समय व्यवसायिकरूपमा मौरी पाल्ने किसानको संख्या बढे पनि विभिन्न समस्या र चुनौतीका कारण उनीहरू निराश भएका छन् । चरन क्षेत्रको विवाद, लगानीको अभाव, बजारीकरणको समस्या झेल्दै आएको नेपालमा उत्पादित महले अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।

यससँगै विषादीको जथाभावी प्रयोग, उत्पादन लागत बढी, मौरी उत्पादनका लागि आवश्यक उपकरणमा चर्को मूल्यसँगै बजारमा मिसावटयुक्त महका कारण नेपाली महले चुनौतीको सामना गर्नुपरेको नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेले बताए ।

चरन क्षेत्रको विवाद

देशभरका धेरैजसो स्थानीय निकायहरूमा अहिले मौरीपालन भइरहेको छ । तर चरन क्षेत्रको विवादका कारण व्यवसायिक किसानले लिन सक्ने जति उत्पादन पाउन सकेका छैनन् । एउटा पालिकाले अर्को पालिका, प्रदेशले अर्को प्रदेश र जिल्लाले अर्को जिल्लालाई आफ्नो क्षेत्रमा मौरी लैजान रोकतोक गर्ने प्रवृत्तिले उत्पादनमा ह्रास आएको छ ।

नेपाल मौरीपालक महासंघ अध्यक्ष घिमिरेले भने, ‘मौरी पालन व्यवसायका लागि तत्स्थानको वनस्पतिको भारवहन क्षमता (मौरी चराउने र मौरी उत्पादन गर्ने क्षमता) कति हुन्छ, त्यसको मूल्यांकन र ज्ञान किसानलाई नहुँदा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ ।’

बजारको अभाव

नेपाली महको उत्पादन लागत पनि बढी रहेको छ । अप्ठेरा बाटाघाटा, धेरै ढुवानी खर्चसँगै लागत पनि बढ्ने भन्दै घिमिरेले नेपाली मह र अन्तरराष्ट्रिय उत्पादनको मूल्यबीच धेरै (लगभग आधाआधी) को फरक पर्ने गरेको सुनाए ।

‘हाम्रो लागत मूल्य बढी भएकैले पनि महँगो हुँदा मह नबिकेको हो,’ नेपाल मौरीपालक महासंघ अध्यक्ष घिमिरेले भने, ‘गुणस्तर राम्रो हुँदाहुँदै पनि हाम्रो मह बाहिर निर्यात हुने मात्रा निकै कम छ ।’

उपभोक्तामा भ्रम

खाद्यान्न, फापर, तोरी लगायतका तेलहन बालीहरू जंगलको छेउछाउमा खेती गरिने भएकाले जंगली स्रोत पनि मह उत्पादनमा मिसिने र यसले गर्दा नेपाली मह जम्ने गरेको छ । ‘तर उपभोक्तामा जमेको मह अशुद्ध, मिसावट युक्त हुन्छ भन्ने भ्रम भएकाले हाम्रो मह मार्केटमा जान गाह्रो भइरहेको छ,’ अध्यक्ष घिमिरे भन्छन् ।

उनका अनुसार नेपाली महको गुणस्तर राम्रो छ भन्ने कुरा उपभोक्तासम्म पुग्नै सकिरहेको छैन । बहुराष्ट्रिय कम्पनीहरूले एउटै रङ, फ्लेभर, स्वादमा दिइरहेका हुन्छन् तर प्राकृतिकरूपमा उत्पादित महमा यो असम्भव हुने उनले बताए । सिजन र मौसम अनुसार फरक–फरक वनस्पतिको फूल खाएका मौरीबाट उत्पादित मह एउटै प्रकारका हुँदैनन् ।

वनस्पतिको पुष्प रस, गुणअनुसार महको पनि गुण, वासना, स्वाद र कलर फरक हुन्छ । ‘हाम्रा किसानले उत्पादन गरेका मह विभिन्न कलरमा आउँछ, उपभोक्ताले बुझ्दैनन्, हाम्रो महमा मिसावट छैन, एउटै रङमा आएको महमा चाहिँ मिसावट हुन्छ । फापर, चिउरी, रुदीलो लगायतका वनस्पतिबाट बनाइएका महको वासना त्यही वनस्पतिको फूल अनुसारकै वासना आउँछ र स्वाद भिन्न हुन्छ,’ घिमिरेले भने ।

राज्यको नीति पनि पर्याप्त भएन

मह उत्पादनको क्षेत्रमा राज्यले पर्याप्त नीति बनाउन नसकेको र भएका नीति पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा व्यवसाय फस्टाउन नसकेको व्यवसायीको गुनासो छ । मह किसानका समस्या कागजमै मात्र सम्बोधन गरिएको भन्दै मह उत्पादक किसानहरू व्यवहारमा कार्यान्वयन नहुँदा आफूहरूलाई समस्या परेको बताउँछन् ।

‘मौरी ढुवानीका लागि लैजान प्रहरी चेकजाँचमा विभिन्न कारण देखाएर रोकिदिने गरिन्छ, धेरै समय रोकिदिँदा बाफिएर मौरीहरू मर्छन्, राज्यले एम्बुलेन्स सरहको सुविधा भन्छ तर विभिन्न चौकीमा सुरक्षा निकाय र सरोकारवालाई जानकारी सर्कुलर नगरिदिँदा हामीले समस्या भोग्नुपर्छ,’ अध्यक्ष घिमिरेले भने ।

घरेलु उद्योग, उत्पादनहरूको संरक्षण नीति राज्यले अवलम्बन गरे महको बजारीकरणको पाटो पनि सहज हुने व्यवसायीको विश्वास छ । राज्यले महको बजारीकरणको पाटोमा पनि ध्यान दिन जरुरी रहेको उनीहरू बताउँछन् ।

राज्यबाट किसानको अपेक्षा

किसानको उत्पादन लागत मूल्य तोकिनुपर्ने किसानको माग छ । राज्यले अन्य मुलुकबाट भित्रने महलाई वैज्ञानिक तवरले कर लगाएर नेपाली उत्पादनको लागत मूल्यसँग बराबर बनाइदिनु पर्नेमा उनीहरूको जोड छ ।

मौरीपालन क्षेत्रले वन जंगलमा रहेका वनस्पतिहरूको परागसेचन गराएर तिनीहरूको वंश संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघ अध्यक्ष घिमिरे बताए । अध्यक्ष घिमिरेले खाद्यान्न, तेलहन, फलफूल बालीमा परागसेचन गराएर ति बालीहरूको उत्पादकत्व वृद्धिमा समेत योगदान पुर्याइ राष्ट्रिय कृषि आय वृद्धिमा सहयोग गरेको बताए ।

‘राज्यले धेरै सम्बोधन गर्नु पनि पर्दैन, परागशेचन शुल्कको व्यवस्था गरिदिए मौरीपालक किसानको संख्या बढ्छ, लागत घट्छ र उनीहरूलाई उत्पादन वृद्धि गर्न पनि प्रोत्साहन मिल्छ, यसतर्फ राज्यले ध्यान दिएको छैन,’ उनले थपे ।

यस्तै राज्यले रासन कोटा उपलब्ध गराउने सुरक्षा निकाय, कर्मचारीहरूको रासनमा पनि नेपाली महलाई समावेश गरिदिए बजारको समस्या दीर्घकालीनरूपमा समाधान हुने उनको विश्वास छ ।

महको उत्पादन

नेपालको विद्यमान वन जंगल, खेती प्रणाली र चरन क्षमतालाई हेर्दा १० लाख मौरी गोला पालन गर्न सकिने सरकारी अनुमान छ । यहाँ, खागो मौरी (एपिस डोरसाटा), भीर मौरी (एसि लेवोरिओसा), स्थानीय–सेराना मौरी (एपिस सेराना), युरोपियन–मेलिफेरा मौरी (एपिस मेलिफेरा) जातका मौरीहरू पाइन्छन् ।

यस्तै जोसटा, रानु मौरी र नगन्यरूपमा कठ्यौरी र पुत्का मौरीले मह बनाउँछन् । देशभर वार्षिक औसत उत्पादन करिब पाँच हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुन्छ तर गतवर्ष (२०८१) मा अघिल्लो वर्षको तुलनामा मह उत्पादन घटेको छ । २०८० मा चार हजार ९४५ टन मह उत्पादन भएकोमा गत वर्ष तीन हजार ८७५ टनमा झरेको थियो ।

महासङ्घले जनाए अनुसार, अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेका थिए भने गतवर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ पुगेको थियो । तथापि व्यवसायिकरूपमा मौरीपालन गर्ने किसानहरू भने घटेका देखिन्छन् । २०८० मा व्यवसायिक मौरीपालन गर्ने किसानको संख्या एक हजार ९६५ रहेकोमा २०८१ मा एक हजार ५६८ रहेको छ ।

गतवर्ष वैसाख २६ देखि मह मेला आयोजना गरिँदा लगभग ३ हजार १४३ मेट्रिक टन मह स्टक रहेकोमा अहिले स्टक घटेर १९७ टन जति रहेको घिमिरेले बताए । यद्यपि पहाडी वेल्टमा चिलाउनेलगायतको मह काढ्ने बेला हुँदैछ । वर्षमा सबैभन्दा धेरै मह मंसिर–पुसमा उत्पादन हुन्छ ।

महासंघको तथ्यांक हेर्दा नेपालमा सबैभन्दा धेरै मेलीफेरा मौरीको मह उत्पादन हुन्छ र बजारको समस्या पनि धेरै मेलिफेराकै महमा देखिएको छ । सेरानाको लागि बजारको समस्या छैन तर अहिले स्टक रहेको महमा सेराना र मेलिफेरा दुवैको उस्तै उस्तै र भीर मौरीको मह पनि छन् । सेरानाको मूल्य १५ सय देखि २५ सयसम्म प्रतिकिलो र मेलिफेराको ८०० देखि १२ सयसम्म प्रतिकिलो रहेको छ ।

छैठौँ राष्ट्रिय मह मेला : प्रचारको प्रयास

मौरीपालक किसानहरूको विभिन्न समस्यासँगै उत्पादित मह स्टक रहेपछि अहिले काठमाडौँको भृकुटीमण्डपमा राष्ट्रिय मह मेलासमेत आयोजना गरिएको छ । ‘आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ भन्ने नारासहित आयोजित मेलामा विभिन्न जिल्लाबाट ल्याइएका मह प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।

मेलाको दोस्रो दिनसम्म अपेक्षितरूपमा कारोबार हुन नसकेको आयोजकले बताएका छन् । ‘अवलोकनकर्ताको फ्लो कम छ । अघिल्लो मेलामा अरु कमोडिटीहरु पनि राखिएको थियो, अहिले महमात्र राखिएको कारण र प्रचारप्रसारको कमीले पनि हुनसक्छ, सोचेजति मान्छे आइरहेका छैनन्,’ महासंघ अध्यक्ष घिमिरेले भने ।

उनका अनुसार मेला अवधिभर एक लाखले अवलोकन गर्ने र ५० लाख कारोबारको अपेक्षा गरिएको थियो तर त्यो लक्ष्य पूरा हुने नदेखिएको उनले सुनाए । दैनिक दुई तीन हजार जना अवलोकनकर्ता मेलामा आएका घिमिरे बताउँछन् । उपभोक्ताले विभिन्न स्रोतका महको स्वाद मेलामा गएर लिन सक्छन् भने मेलामा जेरी पकाएर महमै डुबाएर खुवाउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २०८२ जेठ २६ गते सोमबार