तातो हावा लु चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका सबै विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जमा जेठ २५ गते आइतवारदेखि सात दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले दिएको जानकारी अनुसार नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै बिद्यालय जेठ २५ गते आइतवारदेखि ३१ गते शनिवारसम्म बन्द गर्ने निर्णय गरिएको हो ।
उनले अत्यधिक गर्मीका कारण बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिन थालेपछि एक साताका लागि सबै बिद्यालय बन्द गर्न सूचना प्रकाशित गरिएको बताए । अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको जनाइएको छ । मौसमको अवस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
गर्मी बढ्दै गएकोले जिल्लाका अन्य पालिकाहरुले पनि बिदा दिने तयारी गरेका छन् । यसअघि बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिएर केहिदिन बिद्यालय बन्द गर्नु पर्ने अभिभावकहरुले माग गरेका थिए । चिकित्सकहरुले गर्मीसँगै तातो हावा र लु चल्ने क्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिडडुल नगर्न तथा बालबालिकालाई प्रयाप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।
सत्यपाटी