सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्नुहुन्न, उहाँ बहिरी हुनुहुन्छ, त्यसैले उहाँलाई सुनाउन चिच्याउनुपर्छ । जति सकिन्छ त्यति चर्को चिच्याउने हो त्यही पनि मध्यरातमा ।
बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा पर्ने सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर मागे मात्र पूरा हुन्छ भन्ने आस्था र मान्यता छ । मागेको पुग्ने साक्षात् देवीको स्वरुपको धार्मिक शक्तिपीठको रुपमा साग्दी सत्यवती बर्जु मन्दिर चर्चित छ ।
यहाँ दैनिक धार्मिक मात्र होइन, अन्य पर्यटक पनि पुग्छन् । विशेष पूजाको समयमा एकै दिन एक लाखभन्दा बढी दर्शनार्थी मन्दिर पुग्छन् । भिरमा अडिएको चट्याङमा बसेकी सत्यवती बर्जुको दर्शन र पूजाआजामा भक्तजनलाई असहज भएपछि गाउँपालिका र प्रदेश सरकारको समेत सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ ।
साग्दी सत्यवती बर्जु मन्दिरमा सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार, बरेङ गाउँपालिका र वडा कार्यालयको संयुक्त लगानी रहेको छ । अहिलेसम्म एक करोडभन्दा बढीको पर्यटकीय पूर्वाधार निर्माण भइसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
२०७४ सालदेखि मन्दिरमा संरचना बनाउन थालिएको र अहिलेसम्म एक करोडको पूर्वाधार निर्माण भइसकेको छ । प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, खानेपानी, बलि दिने स्थान व्यवस्थापन तथा पर्खाललगायतका पूर्वाधार निर्माण गरेपछि मन्दिर चिटिक्क देखिएको छ ।
मन्दिरभित्र सत्य देवीको मूर्ति रहेको छभने मन्दिर नजिकैको जलकुण्ड छ । जलकुण्डको पानी वर्षैभरि एकैनास रहने गर्दछ । यस मन्दिरमा मध्यरातमा चिच्याएर वर माग्ने अनौठो परम्परा रहँदै आएको छ । मन्दिरमा भाकल गरेको कुरा पूरा भएको भन्दै पुनः मन्दिरमा आउनेहरुको सङ्ख्या समेत उल्लेख्य रहेको वडाध्यक्ष शेरबहादुर खनालको भनाइ छ ।
मन्दिरमा बर्सेनि मङ्सिर शुक्ल पक्ष धान्य पूर्णिमाका दिन विशेष पूजा गर्दै जलकुण्डमा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । मन्दिर निकै पुरानो भएको प्रमाणित गर्ने १९२४ साल लेखेको घण्टी रहेको छ । मन्दिरमा रहेको १७५ वर्ष पुरानो घण्टीले मन्दिर र यसको इतिहास निकै पुरानो भएको प्रमाणित गर्ने साग्दी सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर श्रीसले बताए ।
त्यहाँ आएका पर्यटकहरुबाट गतवर्ष मात्रै पाँच लाख भेटी संकलन भएको थियो । उक्त भेटीले मन्दिर मन्दिर निर्माणलगायत संरचानामा खर्च गरिएको मन्दिर व्यवस्थापन समितिका अनुसार अध्यक्ष होमबहादुर श्रीसको भनाइ छ । मन्दिरलाई सत्यका रुपमा पूजा गरिँदै आइएको छ । परापूर्वकालमा मन्दिर भएको स्थानमा गौचरन रहेको थियो ।
‘गौरचनको मुख्य भागमा पानीको कुण्ड रहेको र पानीको कुण्डमा गाईवस्तु खस्न सक्ने भन्दै स्थानीयले ढुंगा तथा मुडाहरु राख्ने गरेका थिए, तर भोलिपल्ट गोठालाले कुण्डमा राखिएको मुडा र ढुंगा नदेखेपछि यस कुण्डमा सत्यता रहेको भन्दै बाराकोटबाट लामा झिकाएर पूजा गर्दा कुण्डमा शक्ति रहेको पाइएको थियो,’ व्यवस्थापन समितिका अध्यक्ष श्रीसले भने ।
उनका अनुसार धार्मिक महत्व बोकेको सत्यवती मन्दिरको विशेष सत्यता मानिने जलकुण्ड हुग्दिशिर बराहकोटका मनबीर काउचाले १९२५ सालमा फेला पारी त्यस जलकुण्डको धार्मिक सत्यता छ भनी पूजा गरिँदै आएको हो । यस्तै गाईले जलकुण्डमा पानी खाने क्रममा खाल्टोमा खस्न गई गाईबाट कान नसुन्ने माताको उत्पन्न भएको किंवदन्ती रहेको छ ।
सत्यवती बर्जु माताले कान नसुन्ने भएकाले चिच्याएर वर माग्ने गरेको छ । राति १२ बजेदेखि बिहान ३ बजेभित्र चिच्याएर वर माग्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । मन्दिरको कुवामा एक पटक र मन्दिर माथिको खाल्टोमा अर्को पटक चिच्याएर वर माग्ने गरिन्छ । दिउँसो मागेको वर लाग्दैन र वर माग्दा एकले अर्कोलाई चिन्नु हुँदैन भन्ने विशवासका कारण रातको समयमा माग्ने परम्परा रहेको छ ।
यहाँ बागलुङ, म्याग्दी, गुल्मी, पर्वत, कास्की, तनहुँ, पाल्पा, चितवन, काठमाडौं, बुटवल, भैरहवा लगायतका देशका विभिन्न स्थानबाट आउने गरेका छन् । भक्तजनले मागेका कुराहरू सत्यवती बर्जुले पूरा गरिदिने धार्मिक जनविश्वासको आधारमा राँगा, कुखुरा, बोका, परेवाको बलि दिने वा परेवा उडाउने प्रचलन रहँदै आएको छ ।
सत्यपाटी