२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

पूर्वाधार निर्माणसँगै पर्यटकको रोजाइमा ऐनापहरा

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८२ जेठ २४ गते शनिबार

हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुंगामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई भुलाउने र मनोरञ्जन प्रदान गर्ने जमर्को गाउँपालिकाले गरेको छ । साथै पर्यटकलाई आकर्षण गर्दै आन्तरिक स्रोतको बलियो माध्यम गाउँपालिकाले बनाउँदै आएको छ । यही राजमार्ग भएर पोखरा, चितवन र काठमाडौं लगायत सहर जान दैनिक सयौँ सवारी साधन गुड्ने गर्दछन् ।

यहाँको मनमोहक पानीको छहराले मनै शीतल बनाउनुका साथै रमणीय प्राकृतिक दृश्य र आकर्षक किसिमले कुँदिएका मूर्तिले जोकोहीलाई सजिलै आकर्षण गर्ने गर्दछ । गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा डेढ करोड रूपैयाँभन्दा बढी लगानी गरी भौतिक संरचना निर्माण गरेर पर्यटन प्रवद्र्धनको काम सुरुवात गरेपछि अहिले आम्दानीको स्रोत बन्ने गरेको छ ।

पहराको ढुंगामा कुँदेर सुन्दर परीको मूर्ति, हात्तीको सूँड, आमा र बच्चाको मूर्ति निर्माण गरिएको छ भने पहरामाथिबाट खस्ने पानीको छहराले पर्यटकलाई छुट्टै आनन्द दिलाउँछ । गाउँपालिकाले आर्थिक वर्षको २०८१–०८२ साउनदेखि बैशाखसम्म ४२ लाख रूपैयाँ आम्दानी गरिसकेको छ । गाउँपालिकाले वातावरण शुल्कबापत प्रवेश शुल्कमा स्थानीयलाई ५० रूपैयाँ र बाह्य पर्यटकलाई १०० रूपैयाँ शुल्क कायम गरेको छ ।

अन्य दिनको तुलनामा बिदाका दिनमा पर्यटकको बाक्लो भीड लाग्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सोही पार्कभित्र ऐनापहरा रेष्टुरेराँ होटल सञ्चालनमा रहेको छ । गाउँपालिकाले बोलपत्रमार्फत मासिक ४६ हजार ५ सय रूपैयाँमा भाडामा लगाएको छ । गत शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा ४६ हजार ३०० रूपैयाँ रकम संकलन भएको थियो ।

उनले भने, ‘उक्त रकम अहिलेसम्मकै धेरै रकम संकलन भएको हो, अन्य दिनमा कम्तीमा ८–१० हजार रूपैयाँ टिकट बिक्रीबाट आम्दानी हुने गरेको छ ।’ आगामी वर्ष वार्षिक एक करोड रूपैयाँसम्म आम्दानी गर्ने अपेक्षा गाउँपालिकाले लिएको छ । उनले भने, ‘पर्यटकलाई अझै आकर्षण गर्न सिसाको पुल र जिपलाइन, स्काइवाकलगायत साहसी खेलका लागि संरचना निर्माण गर्न थालेको छ, अबको १० दिनभित्र सञ्चालनमा ल्याइ पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।’

गाउँपालिकाले पर्यटकीयस्थल परिचाहन गरी मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरिसकेको छ । आँदिमूल मन्दिर र समुन्द्री सहतदेखि छिम्केश्वरी माई तथा बुढीमाई मन्दिरको पूर्वाधार र मन्दिर संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्दै आएको छ । पृथ्वी राजमार्ग भएर दैनिक सयौँ सवारी साधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकिने प्रचुर सम्भावना देखिएकाले यो क्षेत्र पर्यटकीयस्थलका रुपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार