एक वर्षअघि नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको शहरमै अर्को हृदयविदारक घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ । भर्जिनियाको मानेसास पार्कस्थित एक अपार्टमेन्टमा दुई साना बालबालिकासहित एक नेपाली परिवारका चारै जना सदस्य गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीले यसलाई घरभित्रै सीमित पारिवारिक हत्या–आत्महत्याको घटनाका रूपमा अनुसन्धान गरिरहेको छ । मानेसास पार्क प्रहरीका अनुसार, घटना जुन ५ को राति करिब १०ः४० बजे भएको हो । घरधनीले आफ्ना भाडावालसँग सम्पर्क हुन नसकेपछि उनीहरूको अवस्था बुझिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।
प्रहरी टोली जब लानाए लेनस्थित अपार्टमेन्टमा प्रवेश गर्यो, उनीहरूले चार जनाको शव फेला पारे । मृतकहरूको पहिचान ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अन्जु श्रेष्ठ, र उनीहरूका आठ वर्षीया छोरी र दुई वर्षीय छोराको रूपमा भएको छ । प्रहरीले घटनास्थलबाट एउटा बन्दुक बरामद गरेको छ र प्रारम्भिक अनुसन्धानले यो घटना बाहिरी व्यक्तिबाट नभई घरभित्रै भएको देखाएको छ ।

यद्यपि, गोली कसले चलायो भन्नेबारे प्रहरीले केही खुलाएको छैन । सबै शवहरूलाई पोष्टमार्टमका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ र बाहिरी समाजलाई कुनै खतरा नरहेको प्रहरीले जनाएको छ । छिमेकीहरूका अनुसार, यो परिवार करिब ६ महिनाअघि मात्रै सो स्थानमा बसाइँ सरेको थियो ।
घटनाले स्थानीय समुदायलाई समेत मर्माहत बनाएको छ । मृतक ८ वर्षीया बालिका मानेसास पार्क सिटी स्कुलमा अध्ययनरत थिइन् । विद्यालयले एक भावुक विज्ञप्ति जारी गर्दै बालिकाको निधनमा गहिरो शोक व्यक्त गरेको छ । विद्यालयले पीडित विद्यार्थीका सहपाठी, शिक्षक र कर्मचारीहरूलाई मानसिक स्वास्थ्य परामर्श तथा सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
यो त्रासदीलाई ममता काफ्लेको नसुल्झेको घटनाले थप रहस्यमय र दुःखद बनाएको छ । गुगल नक्सा अनुसार, काफ्लेको घर र यो घटना भएको स्थानबीच केवल तीन मिनेटको पैदल दूरी छ । एकै ठाउँमा छोटो अन्तरालमा भएका यी दुई दर्दनाक घटनाले अमेरिकामा रहेका नेपाली समुदायलाई गहिरो शोक र चिन्तामा डुबाएको छ । ममता काफ्लेको मुद्दाको सुनुवाइ आगामी अगस्ट महिनामा हुँदैछ ।

