सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्प र मस्कबीच आरोप-प्रत्यारोप, तनाव उत्कर्षमा

एक हप्ताभन्दा बढी समयदेखि अमेरिकी अर्बपति व्यापारी एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख खर्च विधेयकको विरोध गर्दै सक्रिय पहल गरिरहेका थिए । बिहीबार राष्ट्रपति ट्रम्पले जर्मन चान्सलरलाई ओभल अफिसमा भेट्ने क्रममा मस्कप्रति आफ्नो निराशा खुलेर व्यक्त गरेको बीबीसीले जनाएको छ ।

यसको प्रतिक्रियामा मस्कले सामाजिक सञ्जाल एक्समा आक्रमणको शृंखला सुरु गरे । जसमा बिनाप्रमाण उनले ट्रम्प जेफ्री एप्स्टीनसँग गोप्य फाइलहरूमा देखिएको बताए । ट्रम्पले यसको जवाफमा सामाजिक संजाल ट्रुथ सोसलमा मस्कले पागलपन देखाएको आरोप लगाए । र, उनीहरूले मस्कलाई प्रशासन छोड्न आग्रह गरिएको दाबी गरे । उनले मस्कका कम्पनीहरूसँगको सरकारी ठेक्का तोड्ने धम्की पनि दिए ।

यो विवादको बीचमा टेस्लाको सेयर मूल्य १४ प्रतिशतले झर्यो । यसले गर्दा मस्कको इलेक्ट्रिक गाडी कम्पनीको मूल्य एक ट्रिलियन डलरभन्दा तल झर्यो । मस्कले गत हप्ता आधिकारिक रूपमा सरकारी पद छोडेका थिए, जहाँ उनी सरकारी कार्यदक्षता विभाग (डोज)मार्फत सरकारको अत्यधिक खर्च घटाउने जिम्मेवारीमा थिए । यस विवादको पृष्ठभूमिमा उनीहरूबीचको सार्वजनिक द्वन्द्व सतहमा आएको हो ।

ह्वाइट हाउस भन्छ, मस्कको एप्स्टीन सम्बन्धी आरोप दुर्भाग्यपूर्ण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीच चलेको सार्वजनिक विवादको क्रममा ह्वाइट हाउसले मस्कले उठाएका यौन अपराधी जेफ्री एप्स्टीन सम्बन्धी आरोपहरूलाई ‘दुर्भाग्यपूर्ण’ भनको छ । यसैबीच, राष्ट्रपति ट्रम्पका सहयोगी स्टिभ ब्याननले अमेरिकी राष्ट्रपतिले आज मध्यरातभन्दा अगाडि एलन मस्कको स्पेसएक्स जफत गर्नुपर्ने बताएका छन् । एलन मस्कद्वारा स्थापित स्पेसएक्सले नासासँगै गरिएका धेरै परियोजनाहरूका लागि अनुदानसहित अमेरिकी सरकारबाट अरबौँ डलरको सरकारी ठेक्का प्राप्त गर्दै आएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ०८:०३