सूचनाको शक्ति - The Power Of Information

        

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१–०८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत सुर्खेतमा गत वर्षबाट सरी आएका १६२ र चालु आवमा दर्ता भएका ६१३ गरी ६०९ मुद्दामा ७८ दशमलव ५८ प्रतिशत मुद्दा फर्छ्यौट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछ्र्योट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्यौट गरिने लक्ष्य राखिएको छ । न्यायाधीश भण्डारीले पुनरावेदन अन्तर्गत देवानी ८५, सरकारवादी फौजदारी ५४१, दुनियाँवादी फौजदारी ४४ गरी ६७०, रिट ९४ र सुरु मुद्दा ११ गरी ७७५ मुद्दामा ६०९ फछ्र्योट भएको र १६६ फछ्र्योट हुन बाँकी रहेको जनाए ।

त्यसैगरी, प्रतिवेदन अन्तर्गत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम १३५ र मुलुकी देवानी कार्यविधि संहिताको १५७ नम्बर बमोजिम १७ मुद्दा गरी १५२ मा १२९ फर्छ्यौट र १५ फछ्र्योट हुन बाँकी रहेको उनले बताए ।

मुद्दाको विषय अनुसार जबरजस्ती करणी सम्बन्धी १३१, ज्यान मार्ने कसुरका १०८, लागुऔषधका ७३, विवाह सम्बन्धी ६१, चोरीका ४५, वन तथा वन्यजन्तु सम्बन्धी १७, जातीय छुवाछूत सम्बन्धी ३१ मुद्दा दर्ता भएको न्यायाधीश भण्डारीले बताए ।

त्यस्तै हातहतियार खरखजनाका छ, मानव बेचबिखन तथा ओसारपसारका पाँच, रिट निवेदन ९४ र अन्य २०४ मुद्दा दर्ता भएको न्यायाधीश भण्डारीले बताए । उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले चालु आर्थिक वर्षमा एक हजार मुद्दा दर्ता हुने र ७१२ मुद्दा फछ्र्योट हुने लक्ष्य राखिएको बताए ।

उनले कर्णालीमा न्यायालयले सम्पादन गर्ने मुद्दा सम्बन्धी समाचार कम मात्र आउने गरेको बताउँदै गहिरो अध्ययन–अनुसन्धानबाट न्याय सम्बन्धी समाचार सम्प्रेषण गर्न कर्णालीका पत्रकारहरूलाई अनुरोध गरे । न्यायालय संविधान र कानुनबाट मात्र प्रभावित हुने बताएका कामु मुख्य न्यायाधीश भट्टराईले भीड वा अन्य कुनै दबाबमा अदालत नडगमाउने प्रस्ट्याए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ०६:५६