सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका दर्जनौँ पुराना ताल मासेर भौतिक संरचना बनाउँदै उपमहानगर

नेपालगन्ज ८ को धोबी ताल, जसलाई पुर्ने कार्य तीव्र गतिमा हुँदै ।

नेपालगन्जमा रहेका पुराना ताल र तलाउहरूलाई एकपछि अर्को गर्दै मासेर भौतिक संरचनाहरू निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । कुनै बेला बाह्रै महिना पानी भरिभराउ हुने नेपालगन्ज २ को बाल्दा तलाउ, महेन्द्र पार्क नजिकको जुलाहनपुरवाको तलाउ, गगनगन्जको भगवान् तलाउ र भट्टी टोलमा रहेको सार्वजनिक ताललाई मासेर ती तालमा केही भौतिक संरचनाहरू निर्माण भइसकेका छन् भने केही निर्माण हुने क्रम जारी रहेको छ ।

नेपालगन्ज–२ को बाल्दा तलाउलाई पुरेर १०८ फिटको हनुमानको मूर्ति राख्ने काम भइरहेको छ । सोही प्रकारले जुलाहनपुरवाको ताललाई पुरेर सरकारी कार्यालयहरू निर्माण गरिएका छन् भने भट्टी टोलको तालमा पनि माटो पटान र घर निर्माण गरिएको छ । गगनगन्जको भगवान् तलाउमा स्वास्थ्य कार्यालय बनाइएको छ । पछिल्लो समयमा महेन्द्र रङ्गशाला नजिक रहेको धोबी ताललाई पनि पुर्ने कार्य सुरु गरिएको पाइएको छ ।

नेपालगन्ज वडा नम्बर ८ रङ्गशाला नजिकै रहेको धोबी ताललाई पुर्ने क्रम तीव्र गतिमा चलिरहेको छ । केही समय अघिसम्म कपडा धुने पेसा गर्ने धोबीहरूले कपडा धुने गरेको सो तलाउलाई अहिले पानीविहीन बनाएर फोहोर फालेर पुर्ने कार्य भइरहेको स्थानीयले जनाएका छन् । करिब ६ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त तलाउलाई स्थानीय तहको पहिलो कार्यकालमा बाँके जिल्ला फुटबल सङ्घलाई दिएर सङ्घको भवन र ग्रास रुट फुटबल मैदान बनाउने योजनाको शिलान्यास समेत गरिएको पाइएको छ ।

शिलान्यासको बेला राखिएको शिलालेख अहिले पनि उक्त तलाउ छेउमै रहेको छ । तर, उपमहानगर र जिल्ला फुटबल सङ्घले भने त्यस्तो कुनै निर्णय उपमहानगरले नगरेको जनाएको छ । सोही तलाउमा अहिले वडा नम्बर आठको वडा कार्यालयको पनि आँखा लागेको छ । वडा नम्बर आठका वडाध्यक्ष रजनीश बाजपेयीले उक्त तलाउमाथि वडा कार्यालय बनाउने योजना रहेको बताए । सो तालमा फोहोर फालेर पुर्ने काम अहिले धमाधम भइरहेको स्थानीय अरुणविक्रम शाहले बताए ।

उनले केही समय अघिसम्म सिँगडा खेती हुने, जनावर र चराहरूले पानी खाने तथा धोबीहरूले लुगा धुने सो ताललाई फोहोर फाल्ने डम्पिङ साइड बनाइएकोमा दुख व्यक्त गरे । अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा ताल तलैया र सिमसारको संरक्षण गर्नुपर्नेमा मास्ने काम गरिएकोले जमिनमुनिको पानीमा आश्रित हाते पम्पहरू सुक्दै गएको र गर्मी पनि बढ्दै गएको अभियन्ता डा.विनोद कर्णले बताए । उनले सहरभित्रका ताल तलैया मास्दाको गम्भीर परिणाम देखिँदै जाने चेतावनी पनि दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार ०९:५३