बाँकेको हुलाकी सडक अन्तरगत राप्ती नदीको सिधनिया घाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् । सिधनियाघाटमा सात मिटर लामो नयाँ पुल निर्माण भइरहेकोमा लम्बाइ एक हजार १४० मिटर नगरेसम्म डुबान तथा बाढीको समस्या समाधान नहुने भन्दै पुलको लम्बाइ बढाउन सरकारसँग माग गरेका हुन् ।
प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बाँकेका तीन वटा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, हुलाकी सडक परियोजनाका कर्मचारी, जिल्लाका प्रहरी र प्रशासन प्रमुख लगायत स्थानीयको सहभागितामा भएको सर्वपक्षीय भेलाले सो पुलको लम्बाइ बढाउनुपर्ने मागसहितको निर्णय गरेर केन्द्रमा पठाइएको बताइन् ।

भेलामा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनीषासिंह थारू र डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापा लगायतका जनप्रतिनिधि र स्थानीयले पुलको लम्बाइ वृद्धि नगरिए समस्या समाधान नहुने बताउँदै पुलको लम्बाइ वृद्धि नगरिए स्थानीयले तटबन्ध लगायत अन्य काम अघि बढाउन नदिने चेतावनी दिए ।
हुलाकी सडक आयोजना कार्यालय बाँकेका योजना प्रमुख लीलाबहादुर भण्डारी र निर्माण व्यवसायी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीका प्रमुख धीरेन्द्र दाहालले हाल निर्माण भइरहेको पुलको अवस्थाबारे जानकारी गराउँदै लम्बाइ बढाउने कार्य केन्द्रबाट मात्रै हुन सक्ने बताए । राप्ती नदीको सिधनियाघाटमा रहेको पुरानो पुल साँघुरो र सानो छ ।
नदीको कटान र डुबान क्षेत्र बढ्दै गएकोले त्यहाँ ७०० मिटर लामो नयाँ पुल निर्माण भइरहेको छ । सम्झौता भएको साढे चार वर्षमा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले सो पुलको निर्माणलाई तीव्रता दिएको छ । २०८४ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७९ माघमा पुलको सम्झौता भएको थियो ।
