सूचनाको शक्ति - The Power Of Information

        

एआइजी बढुवामा गृहको नाङ्गो हस्तक्षेप, ‘मिचियो वरियता’

सरकारले अर्धसैन्य फौज सशस्त्र प्रहरी बलको एआइजी बढुवा सिफारिस गर्दा वरियता मिचिएको छ । सशस्त्रको उपल्लो तहमा पहिलो पटक यसरी वरियता मिचिएर बढुवा सिफारिस गरिएको हो । अर्धसैन्य संरचनाको फौजमा राजनीति घुसाएर गरिएको बढुवा सिफारिसप्रति सर्वत्र विरोध गरिएको छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीले हस्तक्षेप गरेपछि एआइजी बढुवा सिफारिस भएको स्रोतको दाबी छ ।

वरियता र कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका डिआइजी कमल गिरीलाई छाडेर दोस्रो नम्बरमा रहेका गणेशबहादुर ठाडा मगरलाई एआइजीमा बढुवा गर्न सिफारिस गर्दा सशस्त्र प्रहरीमा पूर्णरुपमा राजनीतिक हस्तक्षेप भएको बताइएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआइजी रिक्त भएको डेढ महिनापछिको रस्साकस्सीले डाठामगरलाई बढुवा सिफारिस गरिएको छ ।

दुवाडीलाई गृहमन्त्रालयमा लैजाने केही विचौलियाहरूले प्रयोग गरेको स्रोतको दाबी छ । जसमा मुलुकको राजनीतिक नेतृत्वले साथ दिएपछि दुवाडी लाई अझ सहज भएको बताइएको छ । सशस्त्र प्रहरीमा वैशाख २ मा एआइजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो । वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचनाअनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।

दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा एआईजीमा सिफारिस भएका हुन् । सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली सिसम–१ बाट डीआईजीद्वय सुरेश श्रेष्ठ र अन्जनी कुमार पोखरेलले पनि एआईजी बढुवाको फारम भरेका थिए । अब उनीहरु नेतृत्वमा पुग्ने संभावना कमजोर बनेको छ । संसदबाट सशस्त्र प्रहरी ऐन बनेमा उनी संगठन प्रमुख बन्ने प्रवल संभावना रहेको छ ।

सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आठ जना नायव महानिरीक्षक (डीआईजी)ले आवेदन दिएपछि डिआइजी कमल गिरी र गणेश ठाडामगरबीच चर्को प्रतिस्पर्धा देखिएको थियो । बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो । आवेदन भर्ने मिति करिब २२ दिनसम्म आलाटाल गरी ठूलो आर्थिक चलखेल गरेर ठाडामगरलाई एआइजीमा सिफारिस गरिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री तथा गृहमन्त्रीबीच वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमतको आधारमा बढुवा गर्ने सहमति भएपछि दोस्रो वरियतामा रहेका तर सशस्त्रभित्र विवादित पात्रको रुपमा परिचित डिआइजी ठाडामगरको अस्वाभिवक चलखेलले बढेपछि अस्वस्थ प्रतिस्पर्धामा परिणत भएको थियो । यसैगरी अर्को विचौलिया तारा सापकोटा र रामचन्द्र भट्टमार्फत परराष्ट्रमन्त्री आरजु राणाको भाई भूषण राणालाई भेटेर करिब ७ करोड रुपैया बोलकबुल गरेको र दुई करोड पेश्की दिएको स्रोतको दावी छ ।

उनले यो बीचमा लुम्बिनी प्रदेशमा रहेका डिआइजी दीपेन्द्र कुँवरलाई प्रयोग गरेका थिए । उनले शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवालाई समेत भेटेर सिधै फोन गराएका थिए । विचौलिया मार्फत डिआइजी ठाडामगरले बढुवालागि सात करोड बोलकबुल गरेको स्रोतको दावी छ । अहिले रिक्त एक एआइजीमा बढुवा हुने व्यक्ति २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो बनेको थियो ।

विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ । बढुवाको मूख्य दावेदार रहेका गिरी अन्य प्रीतस्पर्धीको तुलनामा पेशागत मर्यादा र उच्च मनोबल भएका तथा कार्यसम्पादनमा अब्बल रहेका प्रहरी अधिकृत मानिन्थ्यो ।

ठाडामगर भने मधेश प्रदेशमा रहँदा आर्थिक रुपमा निकै विवादमा आएका अधिकृत हुन् । कतिसम्म भने एयरपोर्टमा डिआइजी ठाडामगरकी श्रीमतीको झोला बोकिदिएन भनेर एउटा प्रहरी अधिकृतलाई कारवाहीको सिफारिस गर्ने, मानसिक रुपमा प्रहरी कर्मचारीलाई दबाब दिने परिचय बनाएका छन् । जातीयताको चर्को व्यवहार गर्ने ठाडामगर थप विवादित अधिकृत हुन् । शैलेन्द्र खनाल आईजीपी हुँदा उनलाई स्पष्टीकरण समेत सोधिएको थियो । ठाडामगरमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि होच्याएको आरोप छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् । अमेरिकी राष्ट्रपति ट्रम्प त्यसबेला जो बाइडेनसँग चुनावमा हारेको समाचार आएलगत्तै तत्कालीन एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्वीर पोस्ट गरेका थिए ।

साधारण व्यक्तिजस्तो गरेर तत्कालीन एसएसपी ठाडामगरले आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै अमेरिकी दूतावासले समेत सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टिसमेत पोखेको थियो । अहिले तिनै व्यक्तिलाई भावी आइजीपीको कलष्टरमा राखेर बढुवा सिफारिस गरिएको छ । डीआइजी ठाडामगरले एसएसपी भएकै बेला माघ महिनामा सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे फौजी आचरणविपरीत गम्भीर टिप्पणी गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक पोस्ट र टिप्पणी गर्न रुचाउने ठाडामगरले त्यसबेला पूर्वराजा ज्ञानेन्द्रमाथि ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आसमा बस्नु मनको लड्डु घिउ’ भनेर पोस्ट गरेका थिए । उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको गम्भीर आरोप छ । सो बाहिनीको बाहिनीपति हुँदा उनी र विवाद भन्ने शव्द पर्याय नै बनेको थियो ।

उनी त्यहाँको बाहिनीपति हुँदा सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको त्यसबेला चर्चा चलेको थियो । सोही समयमा कोशी प्रदेशको कमाण् गरिरहेका गिरीलाई उत्कृष्ट बाहिनी अवार्ड पाएका दिइएको थियो । तर ठाडामगरलाई विभिन्न चार्ज लागेर मूख्यालय तानिएको थियो ।

झापामा रहेका बेला जग्गाको कारोबारी तारा सापकोटासँग विशेष सम्बन्ध बनाएका ठाडामगरका लागि गोकर्णमणी दुवाडी गृहसचिव भएर आउनु नै भाग्य चम्केको थियो । जग्गा कारोबारी सापकोटामार्फत गृहसचिव दुवाडीसँग विशेष सम्बन्ध बनाउन सफल भएका थिए । उनका लागि गृहसचिवले अन्तिमसम्म अडान लिएका थिए । बूढानिलकण्ठको दबाब थेग्न नसकेका ठाडामगरकै पक्षमा निर्णय गर्न दुवाडीलाई जिम्मा दिएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १३:२५