२०८२ माघ २ , शुक्रबार 17, January 2026, Saturday

गाउँमै उद्योग खुलेपछि उखुको मूल्य दोब्बर

सत्यपाटीसत्यपाटी । गुल्मी । २०८२ जेठ २० गते मंगलबार

गुल्मीको रूरूक्षेत्र गाउँपालिका–३ थोर्गा पानीट्यांकीका गोविन्द ज्ञवालीको पुख्र्याैली पेसा थियो उखुखेती । उनले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन् । ज्ञवालीले साढे दुई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । उखु खेती बाहेक उनको परिवार कृषि पेशामा आबद्ध छ भने गोविन्दले गाउँमै स्थापना भएको गुड खुदो उद्योगमा काम गर्छन् ।

केही उखु बीउको लागि पनि राखेको राम्रो आम्दानी भइरहेकाले विदेश जाने कुनै योजना नभएको गोविन्दले बताए । रूरूक्षेत्रमा गोविन्दजस्तै उखु खेतीबाट धेरै मानिसले मनग्य आम्दानी गरिरहेका छन् । रूरूक्षेत्र गाउँपालिका उखु खेतीको लागि प्रख्यात मानिन्छ । पालिकाभरी करिब तीन हजार रोपनीमा अहिले उखु खेती भइरहेको छ । पछिल्लो समय उखुको उचित मूल्य र बजारीकरणका लागि पालिकाले वडा नम्बर ४ मा ‘थोग्रेली गुड खुदो उद्योग’ स्थापना गरेको छ ।

जसबाट स्थानीयले एकातर्फ उखुको झण्डै दोब्बर मूल्य पाएका छन् भने अर्कोतर्फ गाउँमै रोजगारीसमेत सिर्जना भएको छ । उद्योगबाट उखुको रसबाट गुड, खुदो र मिठाइ उत्पादन हुदैँ आएको छ । जसले गर्दा उखु किसानको जीवनस्तर नै फेरिएको छ । उखु किसानलाई एकीकृत गरी उद्योग स्थापना गर्नको लागि रूरू बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गठन भयो । सहकारीमा हाल ११० कृषि आबद्ध छन् ।

‘थोग्रेली गुड खुदो उद्योग’ पनि यसै सहकारीमार्फत संचालन भइरहेको छ । उद्योगले अहिले कृषकको बारीमै पुगरे उखु खरिद गर्दछ । उद्योगले गत माघ महिनाभर प्रतिकेजी ११ तथा फागुन महिनादेखि हालसम्म प्रतिकेजी १२ रूपैँयामा उखु खरिद गरिरहेको छ । उद्योगले ल्याएको उखु पेलेर खुदो पकाउने, गुड तथा गुडका मिठाई बनाउने काम गरिरहेको रूरू कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए ।

उद्योगबाट रोजगारी सिर्जना

रूरूमा स्थापना भएको उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको छ । स्थानीय हरि सेनानीले पहिले दुवैको कम्पनीमा काम गथ्र्ये । केही सयमअगाडि घर आएका उनले गाउँमै स्थापना भएको उद्योगमा काम पाए । अहिले उखु खुदो पकाउने, गुड बनाउने र प्याकेजिङ काम गर्छन् । ‘विदेशमा अरूको दबाबमा धेरै काम गर्नुपथ्र्याे यहाँ साथीभाइसँगै काम गर्न पाइएको छ,’ उनले भने, ‘यहाँको उद्योगमा काम गर्दा पारिवारिक वातावरण छ ।’

सोही उद्योगमा गुड प्याकेजिङको काम गर्ने सीता पन्थलाई उद्योगमा काम सुरू गरेदेखि दैनिक घरखर्च चलाउन निकै सहज भएको छ । काम गरेर मासिक १२ हजार कमाउने उनले सहकारीको शेयर सदस्य भएका कारण काम पाएकी हुन् । उद्योग स्थापनादेखि नै काम गर्दै आएकी कल्पना राईले पनि अहिले सानोतिनो खर्चको लागि श्रीमानसँग घरखर्च माग्नु नपरेको बताउँछिन् ।

‘घरखर्च चलाएकी छु, दुई हजार पैसा पनि साथमा हुने गरेको छ,’ उनले भनिन्, ‘गाउँमै उद्योग स्थापना भए पछि हाम्रो दैनिकी फेरिएको छ ।’ उद्योगमा हाल नियमित पाँच जनाले रोजगारी पाएका छन् । काम गर्ने सबै सहकारीका शेयर सदस्य छन् । उनहरूको कामको प्रकार हेरेर मासिक १२ हजारदेखि २५ हजार रुपैयाँसम्म प्रदान गरिएको छ । यसरी सबै कामदारलाई दिने मासिक तलबमा दुई लाख सहकारीले भुक्तानी गर्ने प्रबन्धक प्रकाश थापाले बताए ।

चार महिनामै २९ लाखको गुड, खुदो बिक्री

उखुको रसबाट बन्ने परिकार बनाउनको लागि वडा नम्बर ४ मा उद्योग स्थापना भयो । जसमा पालिकाले भवन निर्माणको लागि २० लाख र नवप्रभावत युवा संघद्वारा सञ्चालित रूरू कृषि परियोजनाको समन्वयमा हेफर इन्टरनेशनलको २ लाख रुपैयाँ लगानी छ । उद्योगले स्थापनाको छोटो समयमै राम्रो आम्दानी गरेको छ । उद्योगले उखुको खरिददेखि गुड, खुदो र मिठाइ उत्पादन गरी बिक्री गर्दछ ।

उत्पादित गुड, खुदो स्थानीय बजारमै खपत हुन्छ । अहिलेसम्म २६५ टन उखु प्रशोधनबाट १९ लाख रुपैयाँमा ७५ क्विन्टल गुड र १० लाखमा पाँच हजार लिटर खुदो बिक्री भएको सहकारीका प्रबन्धक थापाले जानकारी दिए । हाल दैनिक साढे दुई क्विन्टल खुदो उत्पादन भइरहेको छ । साथै १५ हजार लिटर खुदो स्टक छ । उद्योग स्थापनादेखि हालसम्म २६५ टन उखु बिक्रीबाट किसानले ३१ लाख ८० हजार रुपैयाँ पाएका छन् ।

पहिले प्रतिकेजी सात रूपैँयामा बिक्री हुने उखु उद्योग स्थापना भएसँगै प्रतिकेजी १२ रूपैँयामा बिक्री भइरहेको छ । उखु बिक्रीबाट सबैभन्दा धेरै गंगा पुनले दुई लाख ५० हजार आम्दानी गरेकी छन् । ‘उद्योग स्थापनापछि उखुमा झण्डै दोब्बर मूल्य पाइएको छ,’ पुन भन्छिन, ‘अब बजारको समस्या छैन ।’ रूरूमा हाल रातोकोशेर, थारापाते लगायतका जातका उखु उत्पादन हुने गरेका छन् । रोपेको ९ महिनामा तयार हुने एउटा उखुको घार औषतमा तीन किलो हुन्छ ।

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली किसानको आवश्यकतालाई मध्यनजर गरी उद्योग स्थापना गरको बताउँछन् । ‘कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्नेतर्फ उन्मुख भइरहेका छौँ,’ अध्यक्ष ज्ञवालीले भने, ‘उखु खेती विस्तार गर्नको लागि पालिकाले मल, बीउ र प्रविधिमा सहयोग गरको छ ।’ साथै अब बनाउने नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उखुखेती र उद्योगलाई विशेष प्राथमिकता दिने अध्क्ष ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार