कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन् । माछा मार्न जाँदा उनले खाना पनि साथमै बोकेर जाने गरेको सुनाइन् ।
दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्न सकिन्छ । त्यही माछा झलारी, महेन्द्रनगर, दैजी लगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन् । ‘ताजा माछाको माग बढी हुन्छ, ग्राहकलाई पुर्याउनै सक्दैनौँ,’ उनले भनिन् । सानो माछा प्रतिकिलो २५० र ठूलो माछा ३०० रुपैयाँमा बिक्री हुन्छ । इन्दुको माछा मार्ने तरिका भने भिन्दै छ ।
खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्छिन् । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुंगा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको अनुभव छ । माछा बिक्री गरेर महिनामा ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म कमाई हुने गरेको राईले बताइन् ।
उनको घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्च लगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन् । माछा मार्न उनीहरु समूह बनाएर जान्छन् ।
महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआएकी पार्वती चौधरी बताउँछिन् । घरको सबै खर्च माछा बिक्रीको आम्दानीले धानेको छ । ‘विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमै दिन बित्छ,’ चौधरीले भनिन् । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छ ।
सत्यपाटी संवाददाता । कञ्चनपुर