२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपैयाँ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो । आयोगले सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर गरेको छ ।

सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातमा राखेको पाइएको छ । आयोगले एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार