कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो । बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए ।
बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआइबीका प्रमुख एआइजी चन्द्रकुबेर खापुङले जानकारी दिए । २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिइओका रुपमा कार्यरत थिए । उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए । रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धानअघि बढाइएको सीआइबीले जनाएको छ ।

सल्यानका राय पछिल्लो समय बाँकेका स्थायी बासिन्दा हुन् । सीआइबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन् । उक्त प्रकरणमा बैंकका पूर्व सिइओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिइओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएको एआइजी खापुङले बताए ।
बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानविन समिति गठन भएको थियो । समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो ।
सत्यपाटी संवाददाता । बाँके