ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टी भएपछि बुधबार मात्रै कारागारमुक्त भएका मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आइसीयूमा भर्ना भएका छन् । मस्तिष्कघात भएपछि शुक्रबार अस्पताल भर्ना भएका आलमलाई आइसीयूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
तर आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन् । ‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरूलाई गाली गरिरहनुभएको छ । कतिजना मारेँ, कसरी मारेँ भनेर बरबराइरहनु भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘ब्रेन म्यापिङमा समस्या देखिन्छ ।’
उपचारमा संलग्न स्रोतका अनुसार बिहान साढे १० बजेदेखि आलमको उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या भने बिहान ७ बजेतिर नै भइसकेको थियो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आलमलाई उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले बुधबार सफाइ दिएको थियो ।
रौतहट जिल्ला अदालतको फैसला अनुसार जन्मकैदको सजाय भुक्तान गरिरहेका आलमसहित चार जनालाई नै उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो । उक्त घटना भएको हो भन्ने तथ्ययुक्त प्रमाण नदेखिएको तर्क उच्च अदालतको राय किताबमा उल्लेख गरिएको छ ।
२०६४ सालको निर्वाचनमा राजपुरमा आतंक मच्चाएर चुनाव जित्न बम बनारहँदा विस्फोटमा परेका घाइतेलाई इँटा भट्टामा लगेर जलाएको आरोप उनीसहितका अभियुक्तहरूमाथि थियो । आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए । तर घटना दबाउन उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो ।
जिउँदै मानिसलाई इँटा भट्टामा हालेको आरोप लागेर रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय खेपिरेका आलम बिहीबार मात्रै उच्च अदालतले सफाइ दिएपछि जेलमुक्त भएका थिए । उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए । तर उच्चको फैसलापछि रिहा भएका उनी मस्तिष्कघातका कारण २ दिनपछि नै अस्पताल पुगेका हुन् ।
अस्पतालले भन्यो, ‘आफ्तावलाई मस्तिष्काघात’
पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई मस्तिष्काघात भएको अन्नपूर्ण न्यूरो अस्पतालले पुष्टि गरेको छ । अस्पतालले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी उनलाई शारीरिक, रगत तथा एमआरआई जाँच पश्चात मस्तिष्काघात (एक्युट स्केमिक स्ट्रोक) देखिएको जनाएको छ ।
अस्पतालका अनुसार बिहान करिब ७ बजे आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्ष्यण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।
स्वास्थ्य परीक्षणपछि मस्तिष्काघात देखिएका उनलाई तुरुन्तै टिस्यु प्लामिनोजिन एक्टिभेटर (टीपीए) औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ । तत्पश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आएको र हाल अस्पतालको आइसीयू विभागमा विषेशज्ञ स्नायु चिकित्सकको निगरानीमा उपचाररत रहेका पनि अस्पतालले स्पष्ट पारेको छ ।

सत्यपाटी संवाददाता । काठमाडौं