सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्रीले किन सच्चाए डीआइजी सरुवाको निर्णय ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महाशाखामा पदस्थापन भएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओमबहादुर राना हाजिर नहुँदै फर्काइएको छ । अख्तियारका पदाधिकारीहरुले नै आपत्ति जनाएपछि हाजिर नहुँदै उनलाई सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्री स्तरीय निर्णयले अख्तियारमा डीआइजी हिमालय कुमार श्रेष्ठलाई नै फर्काइएको छ । यसअघि उनलाई काठमाडौं उपत्यका प्रहरी रानीपोखरी पठाइएको थियो ।

प्रहरीको मानवस्रोत विकास विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआइजी हिमालय श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको जनाएको थियो ।

रानीपोखरीमा कार्यरत अर्का डीआइजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाई श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार गत मंगलबार गृहमन्त्री स्तरिय निर्णयबाट डीआइजी श्रेष्ठको सरुवा भएको थियो ।

अख्तियारमा कार्यरत निजामती वा कर्मचारीहरु सरुवा गर्दा अख्तियार प्रमुखको अनुमति लिने अभ्यास छ । तर, मंगलबार डीआइजी श्रेष्ठका बारेमा निर्णय गर्दा गृहमन्त्री लेखकले अख्तियार प्रमुखसँग कुनै सरसल्लाह गरेनन् ।

आयोग स्रोतका अनुसार आयोगमा कार्यरत प्रहरी टोलीले भिजिट भीसा प्रकरणको अनुसन्धान गरिरहेको बेला त्यसलाई प्रभावित पार्ने गरी प्रहरी महाशाखा प्रमुखलाई नै सरुवा गरेपछि आयोग प्रमुखले असन्तुष्टि जनाएका थिए ।

त्यसपछि गृहमन्त्रीले आफ्नो निर्णय सच्याएका हुन् । प्रहरी मानवस्रोत विभागले शुक्रबार नै दोस्रो विज्ञप्ती जारी गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआइजी हिमालय श्रेष्ठलाई अख्तियारमा पदस्थापन गरिएको जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार ०७:५३