हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको सोनारी क्षेत्र सुगम बन्दै गएको छ । कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रुपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको हो ।
राप्तीसोनारी गाउँपालिकाको व्यावसायिक चहलपहल बढ्दै गएको राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए । ‘हुलाकी सडक र पुल बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्, व्यावसायिक कारोबार पनि बढ्दै गएको छ,’ उनले भने, ‘हुलाकी सडक बनेपछि मानिसको आवागमन र चहलपहल बढ्दै गएको छ, अहिले घरेलु तथा साना उद्योग तथा व्यवसाय पनि फस्टाउँदै गएको छ ।’
सडक र पुल बनेपछि राप्तीपारी अवस्थित बिनौना, बैजापुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बैजापुरमा रहेको प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी र बिनौनामा रहेको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्ने सर्वसाधारणको सङ्ख्या बढ्दो छ ।
हुलाकी सडक र राप्ती नदीमा माथि बनेको पुल लगायतका पूर्वाधार विकासले सोनारी क्षेत्रका जनताको आर्थिक तथा समग्र सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्तीसोनारी–५, बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताए । नेपालगन्ज–बघौडा हुलाकी सडक सँगसँगै राप्तीसोनारीको वडा नं ६ कुण्डादेखि नारायणपुर हुँदै अगैयास्थित पूर्व–पश्चिम राजमार्ग जोड्ने हुलाकी सडकखण्ड विस्तार भएपछि अहिले साना ठूला सवारीसाधन आवागमन पनि बढ्दै गएको छ ।
नेपालगन्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गभन्दा यो हुलाकी सडक छोटो पर्ने भएकाले सवारीसाधनको आवागमन बढ्दो रहेको विष्टले बताए । कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल निर्माण भएपछि गाउँपालिकाको नदी वारि र पारिको सीधा सम्पर्क बनेको राप्तीसोनारी–५ का जमानसिंह वलीले बताए । सडक र पुल लगायतका पूर्वाधार विकाससँगै राप्तीसोनारीमा व्यवसायी चहलपहल आएको उल्लेख गर्दै उनले कृषिको माध्यमबाट जनताको आर्थिक जीवनस्तर उकास्नतर्फ अब स्थानीय सरकारले योजना ल्याउनुपर्ने बताए ।
सत्यपाटी संवाददाता । बाँके