करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा व्यतित गरिरहेकी छन् । ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी ‘स्टार’ अहिले ठुलो पर्दाको आकाशबाट नाटकको धर्तीमा आफूलाई अभ्यस्त गराइरहेकी छन् । अर्थात उनी आफ्नो अभिनय करियरमा पहिलोपटक मञ्चमा मञ्चित हुँदैछिन् ।
कान्तिपुर थिएटर, गैरीधारामा आज जेठ १५ गते पहिलोपटक दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित ‘मीरा’बाट डेब्यू हुन लागेको संयोग सुनाउँदा उनी केही कौतुहलतासहित एउटा फरक उत्साह अनुभूत गरिरहेकी छन् । नाटकका लागि केही वर्षअघि दुईवटा नाटक गर्ने प्रस्ताव आएको थियो । त्यो लकडाउनको सेरोफेरोमा आएको प्रस्ताव थियो । तर आफ्नो व्यस्त दैनिकीले नाटकका लागि दिनुपर्ने एक डेढ महिनाको समय उनका लागि सम्भव थिएन । त्योसँगै उनलाई नाटकमा गर्छु भन्ने आत्मविश्वास पनि थिएन ।
‘रिहर्सल अनि दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसार जस्तो कुरा थियो । समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिवेला चासो दिइन,’ उनले भनिन् । तर यसपटक कसरी उनको मञ्च उक्लने कुरा सम्भव भयो त ? यो सम्भव गराउने काम कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सञ्चालक प्रकाश पुरीको मुख्य हात रहेको उनको भनाइ छ । पुरीले स्क्रिप्ट राइटरका रूपमा रेखा फिल्म्सबाट नै डेब्यू गरेकी हुन् ।
‘प्रकाशले नाटकघर सञ्चालन गर्न लाग्नुभएको र म आफैँले उहाँको क्षमता देखेर डेब्यूसमेत गराएकाले उहाँमाथिको विश्वास र समय संयोजन गर्न सक्ने दुवै संयोग मिलेकाले नाटक गर्ने निर्णय गरें,’ उनले भनिन् । यतिले मात्र नभई ‘मीरा’ उपन्यासको कथाले पनि आफूलाई बलियो गरी आकर्षण गरेकी उनले बताइन् । ‘कथा सुनेपछि १५ दिन ‘मीरा’को जीवन एकपटक जिएर हेरौंँ न भनेर हो । मीरा एउटा सच्चा क्रान्तिकारी हो । ऊ भावुक पनि छ । समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा मीरा हुन मन लाग्यो,’ उनले भनिन् ।
थापाका अनुसार प्रेमका विभिन्न प्रकारहरू देखिने र तिनमा समाजका विविध कुराको प्रभाव र असर पर्ने गरेको छ । प्रेममा जातका कुरा, समुदायका कुरा, आर्थिक वर्गका कुरा, समाजका कुरा तथा दुई परिवारका द्वन्द्वलगायत कुराहरूले प्रभाव पार्ने उनी बताउँछिन् । ‘मीरा’ नाटकमा यसकी शीर्षक पात्र ‘मीरा’को प्रेमकथा आमरूपमा सोच्दै–हेर्दै–देख्दै–पढ्दै आएको प्रेमकथाहरू भन्दा फरक भएको उनको भनाइ छ । ‘एउटा यस्तो फरक प्रेमकथा छ, जुन तपाईं हामीले झट्टै सोचिहाल्ने वा अनुमान गरिहाल्ने किसिमको छैन । त्यो प्रेमकथामा वास्तविक जीवनकी रेखा थापा थियो भने त्यही प्रकारको विद्रोह गर्न सक्थी ? के उसले त्यो प्रेम गर्न सक्थी ? कसलाई छनोट गर्थी होला ? समाज, परिवार, प्रेमी या प्रेममा कृष्णकी मीराझैँ हुन्थी ? यस्ता प्रश्नको उत्तर यो नाटकमा छ,’ उनले नाटकबारे खुलाइन् ।
त्यसैगरी थापाले आफूलाई एउटा विद्रोही अभिनेत्रीका रूपमा हेरिने भए पनि आफूमा ‘मीरा’ पात्रझैँ विद्रोही नभएको बताइन् । ‘प्रेमको मामिलामा त मैले विद्रोह नै गर्न पाइनँ । समाजसँग जुन विद्रोह गर्ने रेखा थापा छ, अन्याय अत्याचारविरुद्ध, पात्र त्यस्तै हो, तर मीरा अझ बढी सशक्त र विद्रोही हो,’ उनले भनिन् । नाटक र सिनेमा, दुवैमा अभिनय भए पनि थापाको एक महिनाको अनुभवले यसलाई विनाएक्सन–कटको फिल्म भएको उनी मान्छिन् ।
‘दुवैमा प्रयोग हुने त अभिनयका नवरस नै हुन्, तर यसमा एक्सन–कट, टेक–रिटेक भन्ने हुन्न । रिहर्सल पढाइ हो भने मञ्चन त्यसको परीक्षा हो, जहाँ उत्कृष्ट हुनु जरुरी छ, जस्ट पास भन्ने नै हुँदैन,’ उनले भनिन्, ‘दर्शकसँग प्रत्यक्ष रहेर गर्ने काम हो । म मेरो पात्रमा सजीव हुनुपर्छ । यसमा भेटेको फरक भनेको शुद्धता, किनकि यसमा एडिटिङ भन्ने हुन्न, भ्वाइस डब भन्ने हुन्न, अलिकति ठुलो स्वरमा बोल्नुपर्छ । एउटै रफ्तारमा बहनुपर्छ ।’ नाटकलाई लिएर उनी अहिले आत्मविश्वासमा छिन् भने यो महिना दिनको अवधिले उनलाई ‘हिरो’ फिल्मबाट डेब्यू हुनुअघिको तयारीका दिनहरूको सम्झना गराइरहेको छ ।
‘जीवनमा म दोस्रोपटक यसरी अभ्यास गरिरहेकी छु । हिरो फिल्ममा डेब्यू हुने भएपछि १६ वर्षकी रेखा थापाले नृत्य र अभिनयको प्रशिक्षण लिएको सम्झना मलाई यतिखेर भइरहेको छ । विश्व बस्नेत (अन्याय फिल्मका नायक) ले अभिनय सिकाउनुहुन्थ्यो भने कमल राईले नृत्यको अभ्यास गराउनुहुन्थ्यो । आज २४ वर्षपछि म फेरि १८ वर्षकी मीरा हुने अभ्यास गरिरहेकी छु । यसमा दुई वटा मीरा छन्, एउटा १७–१८ वर्षकी र अर्को ३५–३६ वर्षकी । मलाई अहिलेको अभ्यासले पहिलाकै ऊर्जा बोकेकी रेखा थापा भएको अनुभव भइराखेको छ । अभ्यास गरिरहँदा पहिलो फिल्ममा डेब्यू गर्दाको अनुभव अहिले मलाई भइरहेको छ,’ उनले सविस्तार बताइन् ।
यस्तै, सिनेमामा अभिनय गर्ने रेखा र अब नाटकमा देखिने अभिनेत्री रेखामा फरक अनुभव गरिरहेको उनले बताइन् । ‘यहाँ अझ बढी राम्रोसँग अभिनय गर्न पाइन्छ । एक्सन–कट हुँदैन, पात्रको संवेगसँग बग्नुपर्छ । एउटा लयमा बग्न पाइन्छ । अझ राम्रो प्रस्तुति ‘मीरा’मा हुनेछ भन्ने मेरो विश्वास छ,’ उनले भनिन् । आगामी दिनमा नाटकमा पुनः रेखा थापा मञ्चित हुने–नहुने कुरा आफूलाई आउने नाटकका प्रस्तावमा भर पर्ने उनले बताइन् । समय जुर्दा आगामी दिनमा राम्रा कथा भएका नाटकलाई स्वीकार गर्ने उनको भनाइ छ । ‘मेरा लागि रङ्गमञ्च होस् या सिनेमा, अभिनय उत्तिकै सम्मानीत र प्रगाढ भएर बसेको छ । त्यसैले नाटकका लागि भविष्यमा पनि म खुला नै हुनेछु,’ उनले भनिन् ।
एकमहिने नाटक जीवनपछि थापाको नजरमा नाटक एउटा साधना र ध्यानजस्तो भएको अनुभव हुन गएको छ । अब रेखा दर्शकका लागि आफू एउटा ‘सरप्राइज’ बनेर आउनेमा ढुक्क छिन् । यो नाटकले थापालाई धेरै उत्साह भरेको छ । उनी यो नाटकलाई मञ्चबाट बाहिर लाने सोचमा पनि छिन् । कुराकानीका क्रममा साथै रहेका निर्देशक सुन्दर धितालले सुरुमा नाटकका लागि प्रस्ताव गर्न केही हिच्किचाएको भए पनि प्रस्ताव गरिसकेपछि अभिनेत्री थापालाई पूर्ण रूपमा एउटा कलाकारका रूपमा भेटेको सुनाउँछन् । थापालाई नाटक गराउन सहज भएको र आफूले चाहेको आकारमा नै अभिनय गराउन सकिएको उनले बताए । नाटक जेठ १५ गते बिहीबारबाट असार ७ गतेसम्म प्रत्येक दिन बुधबार बाहेक ५ः३० बजे मञ्चन हुनेछ ।
अशेष अधिकारी । काठमाडौं