सूचनाको शक्ति - The Power Of Information

        

चारपटक शिलान्यास भएको बसपार्क ३८ वर्षपछि सञ्चालनमा

राजविराज बसपार्क पहिलोपटक शिलान्यास भएको ३८ वर्षपछि सञ्चालनमा आएको छ । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको सवारीसाधनको चाप कम हुने राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले परविनले बताए ।

पहिलोपटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोस्रोपटक २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तेस्रो पटक २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गरेका थिए ।

चौथो पटक २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गरेका थिए । त्यसपछि निर्माण कार्य शुरु भएको थियो ।

पटक–पटक स्थानीय जग्गाधनीको अवरोध र निर्माणमा संलग्न ठेकेदारको ढिलाइका कारण बसपार्क निर्माण सम्पन्न हुन सकेको थिएन । राजविराज–२ राजदेवी मन्दिर नजिकै १९ हजार ६०० वर्गमिटरमा पैmलिएको बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंकब्रान्च, प्रतीक्षालय, शौचालय, रेष्टुरेण्ट, मिनिमार्केट, सभाहल, प्रहरी बिट लगायतका संरचना निर्माण गरिएको छ ।

शहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजारमा ठेक्का पाएको सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजले गत वैशाख २३ गते राजविराज नगरपालिकाका कावा नगर प्रमुख परविनलाई राजविराज बसपार्क हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार ०८:३८