बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँ बस्तीमा चितुवा, बाघ र अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन १९१ वटा सुरक्षित खोर निर्माण गरिएका छन् । भेडाबाख्रापालन गर्दा चितुवा, बाघ लगायतका जनावरबाट पीडित यहाँका बासिन्दा सुरक्षित खोर निर्माणपछि भने सुरक्षित महसुस गर्न थालेका छन् ।
राप्तीसोनारी–८, पेरानी गाउँका स्थानीय झक्कुप्रसाद पुनले निकुञ्जको नजिक गाउँ भएकाले गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि केही वर्ष पहिलेसम्म त भेडाबाख्रा पाल्नै छाडेको तर अहिले सुरक्षित खोर निर्माण गरेका कारण फेरि बाख्रापालन सुरु गरेको बताए । अहिले पुनको सुरक्षित खोरमा १६ वटा भेडा र सोही अनुपातमा बाख्रा रहेका छन् ।
भेडाबाख्रा सुरक्षित भएपछि सो व्यवसायमा लगानीसमेत बढाएको बताए । उनले भने, ‘भेडाबाख्रा पाल्नमा मेहनत ग¥यो, चितुवा बाघको आहार भइदिन्थे, अहिले भने सुरक्षित खोर बनाएपछि यो चिन्ता हटेको र लगानी पनि बढाएको छु । केही आयआर्जनसमेत गरिसकेको छु ।’
अर्का स्थानीय भरत चौधरीले पनि सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तुबाट घाइते हुने र मर्ने चिन्ता हटेको बताए । विश्व वन्यजन्तु कोष एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम) अन्तर्गत डिभिजन वन कार्यालय बाँकेमार्फत राप्तीसोनारी–८, पेरानी गाउँका ३० वटा घरमा सुरक्षित खोर निर्माण गरिएका छन् ।
त्यसै गरी बाँकेको कम्दी जैविक मार्गका ३० घरधुरीमा पनि बाख्राका लागि सुरक्षित खोर निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय बाँकेले चितुवा र बाघ लगायतका जनावरले बस्तीमा आएर बाख्रा मार्न र घाइते बनाउन थालेपछि उनीहरूलाई जोगाउन सुरक्षित खोर निर्माण गरिएको जनाएको छ ।
सो जैविक मार्गमा बँदेल, चित्तल लगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउनका लागि विभिन्न सामुदायिक वन क्षेत्र र बस्ती क्षेत्रबिच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको छ । एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका फिल्ड प्रवन्धक प्रकाश थापाले जिल्लामा वन्यजन्तु मानव द्वन्द्व घटाउन १९१ वटा सुरक्षित खोर निर्माण गरिएको जानकारी दिए ।
उनले मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रापालन भएकाले स्थानीयको आयआर्जनमा टेवा दिने बाख्रा पालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान चलाएर सुरक्षित खोर निर्माण गरिएको बताए ।
सोही प्रकारले उक्त आयोजनाले वन्यजन्तुको खाना तथा आहारा वनक्षेत्रभित्रै व्यवस्थापन लगायतका वन्यजन्तुको वासस्थान सुधार सम्बन्धी पानीको स्रोत निर्माण, २० हेक्टर वनक्षेत्रमा घाँसे मैदानको निर्माण, संरक्षण शिक्षा, सामुदायिक वनलाई दिगो वन व्यवस्थापन, सुशासन, कार्यालय व्यवस्थापन लगायतका कार्य गरेको छ ।
सत्यपाटी संवाददाता । बाँके