चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिना (साउन–वैशाख) सम्ममा ६४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कोदो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ६४ करोड ३५ लाख २८ हजार रुपैयाँ बराबरको को १ करोड २८ लाख ६० हजार २७१ किलो कोदो आयात भएको हो ।
उक्त परिमाणमा कोदो आयात हुँदा सरकारले ४ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आयातित कोदोमध्ये २ लाख २३ हजार रुपैयाँको ४० हजार ७० किलो बीउ कोदो छ । बीउ कोदोबाहेक ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १ करोड २८ लाख ५६ हजार २०१ किलो कोदो आयात भएको छ ।
यस्तै गत आव २०८०–०८१ को १० महिनामा ६१ करोड ८३ लाख १६ हजार रुपैयाँको १ करोड २५ लाख ४१ हजार १०७ किलो कोदो आयात भएको थियो । उक्त कोदो आयात हुँदा सरकारले ४ करोड ७९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष कोदो आयात वृद्धि भएको देखिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं