२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

देशभर तीन वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ हुँदैछ वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ १५ गते बिहीबार

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार