सूचनाको शक्ति - The Power Of Information

        

भोलि काठमाडौंमा एमाले-राजावादी प्रदर्शन, हिंसा भड्किने खतरा

यहीँ वर्षको जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सत्तारूढ नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन गर्न लागेको छ । गणतन्त्र दिवसलाई हर्षोल्लासका साथ मनाउन प्रदर्शन गर्न लागेको एमाले महासचिव शंकर पोखरेलले जनाकारी दिए ।

आज (बुधबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत भोलि काठमाडौंमा भव्य प्रदर्शन गर्ने जानकारी दिएका हुन् । सम्मेलनमार्फत उनले आफूहरू राजावादीहरूको विरोधी नभएको प्रष्ट पारेका छन् । पोखरेलले काठमाडौंलाई पनि आफूहरूले नियन्त्रणमा लिने कुनै निर्णय नगरेको प्रष्ट पारे ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीदिन पहिले राजावादीको प्रदर्शनकै दिन अर्थात् जेठ १५ गते काठमाडौंलाई नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उनको निर्देशनलाई लिएर मानव अधिकार आयोग लगायतका विभिन्न संघ–संस्थाहरूले आपत्ति जनाएका छन् ।

त्यस्तै राजावादी प्रदर्शनको प्रतिनिधित्व गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेले आफ्नो प्रदर्शनमा कुनै बाधा अवरोध सिर्जना गरेमा प्रतिवाद गर्ने बताएका छन् । उनले आफूहरूको आन्दोलन शान्तिपुर्ण र भयरहित हुने बताएका छन् ।

यस्तो बेला कुनै पनि शक्तिले रोक्न खोजेमा सह्य नहुने बताउँछन् । यदि एमालेले राजावादीको आन्दोलन रोक्न खोजेमा बिहीबार काठमाडौं हिंसामा परिणत हुन सक्ने खतरा छ । बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने र कुनै पनि हिंसात्मक गतिविधि नहुने बताए ।

‘स्वयंसेवक घोषणा गरिएका र जिम्मेवारी दिएका युवाहरू मात्र स्वयंसेवक होइन । तपाईं प्रत्येक सहभागी र कार्यकर्ताहरू स्वयंसेवक भएर अगाडि बढ्नुपर्छ । र, तपाईंको छेउमा आउने कुनै पनि मानिस ढुंगा हान्न खोज्छ, हिंसात्मक क्रियाकलाप गर्न उद्यत हुन्छ भने निगरानी मात्र होइन तुरुन्तै पक्रनुस्’, लिङ्देनले आफ्नो कार्यक्रममा घुसपैठ हुनसक्ने सम्भावना रहेकाले सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘त्यो सरकारको तर्फबाट घुसपैठ गरेको पनि हुनसक्छ । हाम्रै पनि कोही साथी उत्तेजित छ भने उसलाई सम्झाउनुस्,’ उनले भने, ‘अहिले हामीले कुनै पनि प्रकारको हिंसा भड्काउने र आन्दोलनलाई हिंसात्मक बनाउने योजना बनाएको छैन ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १७:५९