गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू चाँडै फर्कने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू चाँडै बाहिर निस्किने बताएका हुन् । उनले नेपाल र नेपाली जनतामाथि अपराधीहरुले गणतन्त्रको नाममा गरेको अत्याचार, भ्रष्टाचार, तस्करीविरुद्ध बोली रहने र लडिरहने बताएका छन् । उनले आफू चाँडै नै बाहिर आउने बताउँदै नेपाल र नेपालीहरुका लागि सबै त्यागिसकेको बताए ।
उनले भनेका छन्, ‘अब म चाँडै बाहिर आउँदैछु । प्रतिक्षा गर्नुहोस् । मैले त सबै त्यागिसके नेपाल र नेपालीहरुका लागि । अब त उठ्नुहोस् । कति सुत्नुहुन्छ ? नेपाल आमा रोहिरहेको बेला । यो लडाइँ सत्ता र शक्तिको होइनस यो सत्य, न्याय, र स्वाभिमानको लडाइँ हो । हामीले सुतेर बिताएको हरेक क्षणमा नेपालीहरुले रुँदैरुँदै देश छोडिरहेछन् । ब्युझनुहोस् तपाईं हामी ब्युझन ढिला भयो भने देश सबै रित्तो हुनेछ । नेपाल र नेपालीको अस्थित्व साँच्चि नै विलय भएर सकिने छ ।’
सत्यपाटी संवाददाता । काठमाडौं