सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्री लेखकले भने, ‘भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन’

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा दुरुपयोग प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्टाएका छन् । संसद्मा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै आफूमाथि नियोजित ढंगले षडयन्त्र गरेको बताएका हुन् ।

‘त्रिभुवन अध्यागमनका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर उनीसँग रहेका कागजात र मोबाइल डिभाइसहरू सञ्चारमाध्यमबाट जानकारी पाएँ,’ लेखकले भने, ‘अख्तियारले अनुसन्धान थालेको यस विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने गरी विचारहरू अभिव्यक्त भएका छन् ।’

उनले थपे, ‘यो जसरी संलग्नता देखाएर समाचारहरू धारणा सार्वनजनिक भएका छन्। यो बेठिक कुरा हो र मेरो संलग्नता छैन भन्न चाहन्छु । निवेदन गर्छु यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’ उनले यसबारे आफूले संसद्मै धाराणा राख्न चाहेको भए पनि विपक्षी दलहरुको अवरोधका कारण त्यो पूरा हुन नसेकको बताए ।

‘सम्मानीत सदनमै आफ्ना धारणा राख्न सभामुखलाई आग्रह गरेको थिएँ,’ लेखकले भने, ‘हिजोको प्रतिनिधिसभाको बैठकमा पनि राख्न सकिनँ । आज पनि बैठक थियो विषय राख्न समय माग गरेको थिएँ । विषय राख्ने अवसर प्राप्त गरिनँ । प्रतिपक्षी साथीहरूको अवरोधका कारण सदनमार्फत राख्न चाहेको तर नसकेको कुरा यहाँ राखेर सबै सञ्चारमाध्यममार्फत नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई जानकारी होस् भनेर हामी प्रस्तुत भएका छौँ ।’

‘भिजिट भिसा दुरुपयोगका विषयमा मन्त्रीको संलग्नता छ भन्ने ढंगले प्रचार प्रसार, समाचार, सामाजिक सञ्जालमा टिप्पणी आएका छन्,’ उनले भने, ‘यो असत्य हो । बेठीक हो । मेरो कुनै संलग्नता छैन । मेरा विरुद्धमा नियोजित, षडयन्त्रमूलक ढंगले राजनीतिक पूर्वाग्रह देखाइयो ।’ विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसा दुरुपयोग प्रकरणका विषयमा सदनमा कुरा राख्न नपाएको समेत उनले बताए ।

‘यो विषयमा बोल्न हिजो नै आग्रह गरेको थिएँ । हिजोको बैठकमा कुरा राख्ने प्रयत्न गरेँ । आज पनि समय माग गरेको थिएँ, भएन,’ लेखकले भने, ‘व्यक्तिगत जीवन सार्वजनिक जीवन हो । थप केही भनिरहनु परेन । सावजनिक पद धारण गरेपछि प्रश्न उठ्न सक्छन् । मेरो मन्त्रालयका बारेमा केही प्रश्न उठेका छन् । यसैले आफ्ना धारणा राख्न आवश्यक सम्झेको हुँ ।’

उनले जेठ ८ गते अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि बोलाएको, मोबाइल र डिभाइस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको लागि जफत गरेको मिडियाबाटै थाहा पाएको पनि बताए । उनले भिजिट भिसा प्रकरणमा आफूमाथि जोडेर भइरहेका प्रचार असत्य भएको पनि बताएका छन् । उनले आफूमाथिको आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित भएको पनि बताएका छन् ।

उनले आफूबिरुद्ध कुनै उजुरी नभएकाले यसमा आफूलाई अन्याय भएको पनि बताए । अख्तियारले कारबाही गरेका हजारौँ घटनाहरू गृहमन्त्रालयसँग जोडिएका पनि उनले बताए । ‘पार्टीमा एकजना कार्यकर्तामाथि छलफल भयो भने पार्टीका सभापतिले राजीनामा गर्ने ?’ उनले प्रश्न गरे । आफूलाई न्याय पाउने हक रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १७:४५