यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा अर्को सातादेखि सुरु हुने भएको छ । यहीँ जेठ २१ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष पदम खड्काले जानकारी दिए ।
उनले प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको कालिनचौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिए । प्रतियोगिताबाट एसिसी मेन्स यु–१६ इष्ट जोन कपका लागि खेलाठी छनोट गरिनेछ ।
प्रतियोगिताका खेलहरु सुर्खेतको कालुञ्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा हुनेछ । सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ । लिग चरणको शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।
प्रतियोगिताका संयोजक श्रीधर केसीले ७ प्रदेशबाट ७ वटा टिम सहभागी हुने जानकारी दिए । प्रतियोगिता अवधिभर जम्मा खेल २१ हुनेछन् भने प्रतियोगीता लिग चरणमा सञ्चालन हुने प्रतियोगिताका संयोजक केसीले जानकारी दिएका छन् ।

सत्यपाटी संवाददाता । सुर्खेत