गृहमन्त्री रमेश लेखक भिजिट भिषाको दुरुपयोग प्रकरणमा मुछिएका बेला कोशी प्रदेशमा सुरक्षा निकाय र राजनीतिक दलकै आडमा लामो समयदेखि सीमा नाकाबाट व्यापक तस्करी भइरहेको छ । स्थानीय स्तरमा घर भएका प्रहरीलाई त्यहाँको कमाण्ड दिएपछि झनै तस्करी बढिरहेको छ । कोशी प्रदेश अन्तर्गतको भारतसँग जोडिएको मुख्य सीमानाका झापाको काँकडभिट्टा, मोरङको रानी र सुनसरीको कप्तानगन्ज र भ्यान्टाबारी हुन् ।
यी सीमानाकामा कडाइ गर्ने जिम्मेवारी सशस्त्र प्रहरीको नम्बर १ बराह बाहिनीको भएपनि त्यहाँबाट कमाण्ड बलियो बन्न सकेको छैन । भर्खरै गएका डिआइजी कुमार न्यौपानले त्यहाँको कमाण्डलाई कसरी बलियो बनाउने भन्ने भेउसमेत पाउन सकेका छैनन् । अहिले नम्बर १ बराह बाहिनी सुनसरीको बाहिनीपति कुमार न्यौपाने (डीआइजी), झापाको गणपति तुला भण्डारी, सुनसरीको गणपति निर्मल थापा सबै झापाकै हुन् ।
नम्बर १ बराह बाहिनीका सहायक बाहिनीपति एसएसपी सुधिरजंग थापा, झापास्थित शिक्षालयका समादेशक एसएसपी राजेश उप्रेती र शिक्षालयको एसपी विश्व खड्का पनि झापाकै हुन् । बाहिनीको अप्रेसन हेर्ने एसपी विक्रम हुमागार्ई मोरङका हुन् । मोरङको गणपति राजेश घिमिरे मोरङकै हुन् । यस्तै इलामका गणपति लोकेन्द्र सुवेदी पनि झापाकै हुन् । राजेश उप्रेती हेडक्वार्टरमा बस्दा महिला प्रहरी कर्मचारीलाई ऐना हेर्न सिकाउने गर्थे ।
त्यतिबेला उनलाई हेडक्वार्टरमा ऐना मास्टर भन्ने गरिन्थ्यो । अहिले झापा शिक्षालयमा छन् । सामान्यतः सुरक्षा संगठनमा स्थानीयलाई कमान्डको जिम्मा दिइँदैन । उनीहरूलाई कमान्डको जिम्मा दिँदा स्वार्थ बाझिएको बुझिन्छ । तर, कोशी प्रदेशको हकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेको गृहजिल्ला झापाका स्थानीयबासीलाई कमान्डको जिम्मा दिइएको छ । सशस्त्र प्रहरीले यो विषयमा ध्यान नपुर्याएको हो कि शक्तिका अगाडि झुकेको हो भन्नेमा स्पष्ट छैन ।
यसअघि पनि जब झापा घर भएका शम्भु सुवेदी सो बाहिनीको बाहिनीपति भएर गए, स्थानीय भएका नाताले उनले तस्करको सामना गर्न सकेनन् । तस्करी व्यापक रुपमा खुलाए । अहिले गएका बाहिनीपति न्यौपाने पनि झापाकै हुन् । आगामी माघ मसान्तमा अवकाशमा जान लागेका उनी अवकाशपछिको सुखद जीवनका लागि आर्थिक जोहो गर्नकै लागि त्यहाँ गएको चर्चा चलेको छ ।
झापाकै वंशीराज दाहालले पनि सो बाहिनीको नेतृत्व गर्दा तस्करसँग मिलेर विराटनगरको एक होटलमा तस्करहरुको सम्मेलन नै गरेका थिए । झापालीहरूले संरक्षण गर्छन भन्ने विषयचाहि सोलुखुम्बूमा रहेका डिएसपी गोविन्द पोखरेललाई केही दिन तानेर फिर्ता गरेबाटै स्पष्ट भएको छ । १ सय २५ जना टोली रहेको सोलुमा ७५ जना घर विदामा छाडेर ५० जना मात्रै राखेर बस्ने डिएसपी पोखरेललाई कमाण्ड फिर्ता पठाएका थिए ।
पोखरेल आफूलाई इश्वर पोखरेलको भतिजोको रुपमा प्रस्तुत गर्दै सशस्त्रमा मोज गर्दै आएका छन् । सशस्त्र मुख्यालयले तत्कालीन समयमा महोत्तरी र धनुषाका केही अधिकृतलाई सीमानाकाबाट भन्सारछलीका सामान ओसारपसार नियन्त्रण गर्न नसकेको आरोपमा तानेको बेला उनै पोखरेल पनि परेका थिए । त्यसबेला पोखरेल महोत्तरीको भिट्टामोड गुल्मका सशस्त्र प्रहरीका इन्चार्ज थिए । सिमानाकाबाट हुने तस्करी नियन्त्रणको पहिलो जिम्मेवारी सशस्त्र प्रहरीको हो ।
तर कोशी प्रदेशमा कार्यरत सशस्त्रकै जिम्मेवार अधिकृतले तस्करसँग मिलेर कमाउधन्दालाई तीव्रता दिएपछि संगठन सुधारमा लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पनि त्यसको अपजस बेहोर्नु परिरहेको छ । फलतः सशस्त्र मुख्यालयले मोरङस्थित प्रस्तावित सीमा गुल्म रानीका डीएसपी ऋषिकेश राउतलाई नम्बर १ बराह बाहिनी पकली, सुनसरीमा फिर्ता बोलाएर नयाँ गुल्मपतिका रूपमा अमरबहादुर खत्रीलाई पठाएको छ ।
कोशी प्रदेश र मधेश प्रदेशमा भन्सार छली तस्करीका सामान भित्रदा भन्सार राजस्व असुलीमा असर परेको गुनासो आएपछि सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले सचिवालयका अनुगमन गराउन खोजेपनि केही अधिकृतहरु बाधक रहेका छन् । विगतमा मधेश प्रदेशका जिल्लामा तत्कालीन डीआईजी गणेश ठाडामगरका घुमुवाका रुपमा बदनाम भएकाहरु अहिले कोशी प्रदेशमा पुगेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं