२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

टिकटकमा मानसिक स्वास्थ्यका लागि ‘गाइडेड मेडिटेसन’ सुविधा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ १४ गते बुधबार

विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले ‘गाइडेड मेडिटेसन’ सुविधा सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले नयाँ इन–एप टुल ल्याइएको कम्पनीले जनाएको छ ।

टिकटकले २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’समेत घोषणा गरेको छ । जसले विश्वभरका विश्वसनीय संस्थालाई सहयोग पुर्याउने विश्वास छ । विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवा पुस्तासम्मका सबै प्रयोगकर्ताले नयाँ टुल प्रयोग गरेर सजिलोरूपमा मेडिटेसन गर्न सक्ने छन् ।

टिकटकको पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो रहेको कम्पनीले जनाएको छ । टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्य सम्बन्धी संस्थासँग साझेदारी गर्दै ४२.३ मिलियन बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ ।

यो कोष र टिकटक–नेतृत्वको प्रशिक्षणले साझेदारलाई व्यापक दर्शकमा पुग्ने गरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्य सम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्ने विश्वास गरिएको छ । मानसिक स्वास्थ्य सम्बन्धी छलफल विस्तार हुँदै गइरहेका दक्षिण एसियाली मुलुकमा पनि यो पहल विस्तार गर्ने टिकटकको योजना छ ।

कम्पनीका अनुसार, गाइडेड मेडिटेसन सुविधा र मानसिक स्वास्थ्य फन्डले टिकटकको डिजिटल वेलबिङ र सामाजिक प्रभावप्रतिको दीर्घकालीन प्रतिबद्धता देखाउँछ । टिकटकले अहिले शैक्षिक सामग्री, सुरक्षा उपकरण र अभिभावकीय नियन्त्रण सुविधा पनि थप्दै छ । जसले युवा प्रयोगकर्ताका लागि स्वस्थ डिजिटल व्यवहारलाई प्रवर्धन गर्ने कम्पनीले जनाएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार