रुपन्देहीको बुटवलस्थित होराइजन चोकमा एक महिला र दुईजना बालिकाको वीभत्स हत्या भएको छ । प्रहरीका अनुसार बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू सात वर्षीया स्नेहा ढकाल र चार वर्षीया हिमानी ढकालको हत्या गरेका हुन् ।
दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग विवाह गरेकी थिइन् । मृतक दुई बालिका शंकर र दीपाका सन्तान हुन् । पक्राउ परेका सुजन यसअघि आफ्नै दाजुको हत्या गरी जेल चलान भएर केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ ।
प्रहरीका अनुसार कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए । त्यहीबेला चक्कु र घन प्रयोग गरी तीनैजनाको हत्या गरेको उसले प्रारम्भिक बयानमा बताएको छ । दीपा पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन् । पक्राउ परेका सुजनलालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सत्यपाटी संवाददाता । रुपन्देही