सूचनाको शक्ति - The Power Of Information

        

भिजिट भिसा प्रकरण : आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत हुन पाएन, के होला बजेट ?

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । आज बिहान ११ बजे बसेको बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएका थिए । त्यसपछि बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो । बैठक फेरि नबसी सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहितका दलले संसद् अवरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप लागेका मन्त्री लेखकले सम्बोधन गर्ने कार्यसूची रहे पनि प्रतिपक्षीको अवरोधका कारण उनले सम्बोधन गर्न पाएनन् । माओवादी सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले लेखकले राजीनामा दिनुपर्ने माग गरे ।

खनालले लेखकले राजीनामा नदिएसम्म बैठक नचल्ने बताएपछि केहीबेर बैठक अवरुद्ध भएको थियो । सभामुखले विपक्षी सांसदलाई बैठक अवरुद्ध नगर्न पटकपटक गरेको आग्रह उनीहरूले नटेरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । बैठक स्थगित भएपछि सभामुख घिमिरेले विभिन्न दलका सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा विपक्षी सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने अडान राखे ।

त्यसपछि सभामुखको निर्देशनमा बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । भिजिट भिसामा विदेश जानेहरूसँग सेटिङ मिलाएर रकम लिने काममा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री लेखक विवादमा तनिएका हुन् । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आव २०८१–०८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको थियो ।

हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत हुने गर्छ । आर्थिक सर्वेक्षण संसद्मा पेस भएपछि मात्र सार्वजनिक हुने गर्छ । प्रतिपक्षीको अवरोधका कारण बजेटसमेत प्रभावित हुन सक्ने देखिएको छ । यही अवस्था रहेमा अर्थमन्त्रीले संसद् बैठकमा बजेट प्रस्तुत गर्ने सम्भावना रहँदैन । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था संविधानमै छ । दलहरूबीच सहमति कायम नभए बजेट नै सकसमा पर्नेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार ०९:४३