बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ ।
सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए । उनका अनुसार होराइजन चोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो ।
दीपा र उनका दुई बच्चाको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ र ४ वर्ष रहेको डिएसपी रानाले जानकारी दिए । हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुजन दीपाका पूर्वपति रहेको बताइएको छ । उनीहरुको सम्बन्धविच्छेद केही वर्ष पहिले भएको थियो । सुजन कोइरालाले यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भएका थिए ।
तर केही वर्ष पहिले उनलाई कैद माफी दिइएको बताइएको छ । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार हत्यामा संलग्न भएको आरोपमा सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान जारी छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
सत्यपाटी संवाददाता । बुटवल