२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

प्रधानमन्त्रीलाई मानवअधिकार आयोगको चेतावनी, ‘उत्तेजनापूर्ण अभिव्यक्ति नदिनू’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ १२ गते सोमबार

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ । आयोगले उत्तेजनापूर्ण अभिव्यक्ति नदिन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रण हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले चिन्ता व्यक्त गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको छैन । यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’ राजावादीहरुले जेठ १५ गतेबाट गर्न लागेको आन्दोलनको अनुगमन गरिदिन आग्रह गरेको भन्दै आयोगले त्यसप्रति लक्षित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘आगामी २०८२ जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमन समेत गरिदिन अनुरोध गर्दै आयोगमा जानकारीपत्र प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सोही आन्दोलनको सन्दर्भलाई इंगित गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आयोगले भनेको ‘देशको शान्ति सुुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ छ । शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन । यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति चिन्ताजनक छ । जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानवअधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ ।’

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार