सूचनाको शक्ति - The Power Of Information

        

कतारमा ट्याक्सी गुडाउँदै नेपालकी ‘महारानी’

‘लाइदेउ मोहनी’, ‘दिलकुमारी’, ‘झिलिमिली रमाइलो’ जस्ता दर्जनबढी गीतका गायिका इन्दिरा शाह ‘महारानी’ केही समय यता सांगीतिक क्षेत्रमा बेखबर छिन् । सांगीतिक क्षेत्रबाट एकाएक ओझेल परेकी ‘महारानी’ हिजोआज कता के गर्दैछिन् ? सम्भवतः उनका सांगीतिक फ्यानलाई यस्तै चासो र कौतुहलता हुनसक्छ ।

गायिका ‘महारानी’ करिब पाँच वर्षयता सांगीतिक माहोलबाट टाढा छिन् । त्यसो त उनी सन् २०१३ देखि नै कतार आउने जाने गर्थिन् । तर, पछिल्लो करिब पाँच वर्षयता भने उनी कतार गएर नेपाल आएकी छैन । उनी त्यहाँ ट्याक्सी चलाउँछिन् । ट्याक्सी चलाउनु उनको रुची पनि हो । उनले भनिन्, ‘मेरो इच्छा ठूलो थियो ट्याक्सी चलाउने, ड्राइभिङ गर्ने । त्यही भएर मैलेचाहिँ ड्राइभिङ गरेको हो । अरु कामहरुभन्दा धेरै राम्रो पनि छ यो ।’

गायिका इन्दिरा अर्थात महारानीले भनिन्, ‘म यहाँ झण्डै चार वर्षदेखि ट्याक्सी चलाउँदै आएकी छु ।’ सोही क्रममा उनले ट्याक्सी चलाउनु आफ्नो रुची भएको बताइन् । गायिका इन्दिराको आफ्नै सोच र धारणा छ । उनी नेपालमा हुँदा पनि फरक किसिमले आफूलाई चिनाउन चाहन्थिन् । उनी उपनाम ‘युनिक महारानी’का रुपमा बढी चिनिन्छिन् ।

केही वर्षअघि उनले भनेकी थिइन्, ‘म अरुभन्दा युनिक छु, त्यसैले आफूलाई महारानी भनेर शोसल मिडियामा चिनाउँदै आएकी छु ।’ २०५९ सालदेखि गायनमा होमिएकी इन्दिराले १८ वटा गीति एल्बम ल्याइसकेकी छन् । तर, अब पुनः गायनमा फर्किन्छु वा फर्कन्न भन्ने उनैलाई थाहा छै्रन । ‘खै, नेपालमा केही गर्न सकिएन, त्यसैले कतार आएँ,’ उनले भनिन्, ‘यहाँ ट्याक्सी चलाएर जसोतसो आफूलाई पुग्ने कमाइ गरिरहेकी छु । नेपालमा त त्यो पनि गर्न सकिएन ।’

उनी कतारमा बिहान सबेरै ट्याक्सी लिएर सडकमा निस्किछिन् र साँझ अबेरसम्म प्यासेन्जर ओसारछिन् । ‘कहिलेकहिँ त रातिको १२ नै बज्छ,’ उनले भनिन् । कतारमा सडकमा ट्याक्सी चलाउँदा आफूलाई कुनै अप्ठ्यारो महसुश नभएको उनले बताइन् । अरु काम भन्दा ट्याक्सी चलाउन सजिलो र आम्दानी पनि राम्रो हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १६:०२