हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोका कारण १८ घरका ३२ जना विस्थापित भएका छन् । यही जेठ १ गते राति नाम्खा गाउँपालिका–६ मा बाढी–पहिरो गएको थियोे । पहिरो अध्ययन गरेर जिल्ला सदरमुकाम फर्किएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।
विस्थापितहरूलाई अहिले अस्थायी रूपमा नजिकको विद्यालयमा राखिएको उनले जानकारी दिए । ‘स्थानीयवासीको घरहरू चर्किएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी चन्दले भने, ‘घरहरू पुननिर्माण गरेर चाँडै नै उहाँहरूलाई आ–आफ्नै घर फर्काउने तयारी गर्दैछौँ ।’ उक्त स्थानमा अध्ययन गर्न गएको प्राविधिक टोलीले पाँच हजार ३५० मिटरमाथि हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको जनाएको छ ।
यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए । अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी छन् ।
सत्यपाटी