प्रहरीले आफ्नै कोठामा मृत फेला परेकी रोशनी शाहीको साथबाट ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले सुसाइड नोट भेटिएको पुष्टि गरे ।
उनका अनुसार, शाहीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । ‘शाहीको कोठाबाट सुसाइड नोट फेला परेको छ । नोटमा कसैका कारण आत्महत्या गरेँ भन्ने खालको छैन । तर, जीवनदेखि हार खाएँ, छोराछोरीका लागि केही गर्न सकिनँ भन्ने छ ।’
नोटबारे थप अनुसन्धान भइरहेको डीएसपी नेउपानेको भनाइ छ । जाजरकोटकी शाही आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित कोठामा मृत फेला परेकी थिइन् । कोठाभित्र चुकुल लगाएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
घरमा अन्य कोही सदस्य नभएको बुझिएको छ । उनका पति विराटनगरमा रहेकाले खबर गरिएको प्रहरीले जानकारी दिएको छ । उनका छोराछोरी भने विदेशमा छन् । २०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो ।
त्यसक्रममा महराको चस्मा फुटेको थियो । सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन् । महराले जबर्जस्ती करणीको प्रयास गर्दा आफूले प्रतिकार गरेको भन्दै उनले आफूलाई निर्घात कुटपिट गरेपछि कराएकोमा कोठाबाट भागेको जाहेरी दिएकी थिइन् ।
उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो । पीडित भनिएकी रोशनीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दासमेत आफूमाथि बलात्कार प्रयासको आरोप खण्डन गरेकी थिइन् । उनको इन्कारी निवेदन र बकपत्रमा महरा आफ्नो कोठामा नआएको लेखेकी थिइन् । त्यही तथ्यमा टेकेर जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं