रोशनी शाही भक्तपुरमा आफ्नै कोठाभित्र मृत फेला परेकी छन् । उनी तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर विवादमा आएकी रोशनी भएको खुलेको छ । आइतबार सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित आफ्नै कोठामा मृत फेला परेकी हुन् ।
कोठाभित्र चुकुल लगाएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घरमा अन्य कोही सदस्य नभएको बुझिएको छ । उनका पति विराटनगरमा रहेकाले खबर गरिएको प्रहरीले जानकारी दिएको छ । उनका छोराछोरी भने विदेशमा छन् ।
२०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो । त्यसक्रममा महराको चस्मा फुटेको थियो । सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन् । महराले जबर्जस्ती करणीको प्रयास गर्दा आफूले प्रतिकार गरेको भन्दै उनले आफूलाई निर्घात कुटपिट गरेपछि कराएकोमा कोठाबाट भागेको जाहेरी दिएकी थिइन् ।
उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो । पीडित भनिएकी रोशनीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दासमेत आफूमाथि बलात्कार प्रयासको आरोप खण्डन गरेकी थिइन् । उनको इन्कारी निवेदन र बकपत्रमा महरा आफ्नो कोठामा नआएको लेखेकी थिइन् । त्यही तथ्यमा टेकेर जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।
