२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

बैंकले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ १२ गते सोमबार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै शेयर धितो कर्जाको जोखिम भार घटाइएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दर, निक्षेप संकलन दर र बैंक दर भने यथावत राखेको छ ।

‘आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे छ प्रतिशतमा यथावत राखिएको छ,’ समीक्षामार्फत् राष्ट्र बैंकले भनेको छ, ‘विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलता सम्बन्धी अनुपातलाई यथावत् राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।’

विद्यमान सेयर धितो कर्जाको जोखिम भार पनि घटाइएको छ । हाल सेयर धितो कर्जामा रहेको कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । कानुनी सुधारतर्फ पनि राष्ट्र बैंकले केही नयाँ व्यवस्था ल्याउन लागिएको छ । लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिने जनाइएको छ । त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन बमोजिम चेक अनादर सम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार