सूचनाको शक्ति - The Power Of Information

        

छेडागाडमा पहिरोले घर र अस्थायी आवासमा क्षति

जाजरकोटको छेडागाड नगरपालिका–१ खारा र वडा नम्बर–४ जेवातरामा पहिरोले क्षति गरेको छ । हिजो वर्षापछिको पहिरोले चार वटा घर, पाँच वटा अस्थायी आवास र दुई वटा मोटरसाइकलमा क्षति भएको हो ।

त्यस्तै १४ वटा घर र एउटा अस्थायी आवास उच्च जोखिममा रहेको नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिए । छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारको सब–डिभिजन वन कार्यालयको भवन पनि क्षति भएको छ ।

गएको वर्ष भूकम्पपछि चिरा परेका घर तथा गोदामहरूसमेत अहिले पहिरोको उच्च जोखिममा परेका छन् । उपमेयर थापाले यस वर्षको मनसुन आउनुअघि नै पहिरो र भौतिक क्षतिले गम्भीर चिन्ता थपेको बताए । उनले सरोकारवाला निकायलाई तत्काल पूर्वतयारी र दीर्घकालीन समाधानका लागि पहल गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतवार १३:००