थाइराइड रोग नभएर हर्मोनमा आउने गडबडीले देखिने एक समस्या मात्र रहेको चिकित्सकहरुले बताएका छन् । विज्ञ चिकित्सकहरुले नेपालीमाझ थाइराइडको बारेमा सचेतना बढी आवश्यक भएको बताएका हुन् ।
उनीहरुले थाइराइड देखिएदैमा निकै डराएको र अझ भनौं अन्य रोग निको भयो यो थाइराइड भने निको भएन भनेर बिरामी आतिएको देखिन्छ । तर थाइराइड रोग नभएर हर्मोनमा आउने गडबडीले देखिने एक समस्या मात्र रहेको बताएका हुन् ।
एसोसिएसनका अध्यक्ष डा.अमित शाक्यका अनुसार अधिकांश नेपालीहरुको बानी स्वास्थ्यमा समस्या नआउँदासम्म जाँच नगर्ने रहेको छ । यस्तो बानीले नेपालमा यो समस्याले विकराल रुप लिएको छ ।
उनी हर्मोनमा आउने गडबडी रोक्न आफैले सतर्कता अपनाउन सकिने बताउँछन् । उनले भने ‘तनाव नलिने, तौललाई नियन्त्रण गरे । यसले थाइराइड मात्रै होइन अरु थुप्रै नसर्ने रोगको जोखिमको सम्भावनाबाट बचाउँछ ।
यसैगरी, एसोसिएसनका महासचिव डा.भोजराज अधिकारी कुल जनसंख्याको ८ देखि १० प्रतिशतमा थाइराइड हुने गरेको देखिएको बताए । पुरुषलाई भन्दा महिलामा यो बढी देखिने उनको भनाई छ ।
विश्व थाइराइड दिवसको सन्दर्भ पारेर डाइबेटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपालले शनिबार गरेको पत्रकार सम्मेलन गरेका थिए । थाईराईड जाँचमा जनचेतना बढाउँन आवश्यक देखिएको चिकित्सकहरु बताउँछन् ।
