२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ ११ गते आइतबार

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार एक जना बिरामीमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया एक महिलामा प्रत्यारोपण गरिएको छ ।

अंग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्य लाभ गरिरहेका छन् र केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेका सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ । जेठ १ मा मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । काठमाडौं मेडिकल कलेजले अंग झिकेको थियो ।

निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भने, ‘संसारकै सबैभन्दा जटिल शल्यक्रियामध्येको दुवै अंग एकैसाथ प्रत्यारोपण हुने केश विरलै मात्रै हुने गरेका छन् ।’ उक्त प्रत्यारोपण टिममा कलेजोतर्फ डा.रोशन घिमिरे र डा.प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौलातर्फ डा.दिपेश श्रेष्ठ, डा.रुपेशकुमार झा, डा.हरिप्रसाद बराल, डा.रोजन अधिकारी र डा.विकास खड्का थिए ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार