२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

तीनकुने घटनामा १०८ जनाविरुद्ध आज अभियोग दर्ता गरिँदै

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित मुद्दा प्रहरीले आइतबार अदालतमा दर्ता गर्दैछ । मुद्दामा १०८ जनामाथि अभियोग लगाइनेछ ।

ती अभियुक्तहरूविरुद्ध पाँच वटा मुद्दा लगाउने प्रहरीको तयारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्नविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा लगाइने छ ।

जिल्ला प्रहरी परिसर काठमाडौैंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको थियो । तीनकुने हिंसात्मक घटनामा १७० भन्दा धेरै पक्राउ परेका थिए, जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् । उनीहरूविरुद्ध बिहीबार मात्रै २ दिनको म्याद थप भएको थियो ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको प्रदर्शन हिंसा, तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो । घटना अनुसन्धानको अवधि आइतबार ६० दिन पूरा भएको छ । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं लगायत पक्राउ परेका थिए ।

जसमध्ये ६१ विरुद्ध मात्रै आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गतको कसुर लगाइएको छ । बाँकीलाई भने हाजिर जमानीमा छाडिएको छ । अभियोग लगाइएकामध्ये राणा र मिश्र हिरासतमुक्त छन् । नेताद्वयविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुर लगाइएको छ । समितिका कमान्डर प्रसाईंविरुद्ध पनि सोही कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी छ ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार