नेपाल प्रहरीका एक जना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ ।
एक जना प्रहरी हवलदार, पाँच जना सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन् । गैरहाजिर हुने हवलदारमा कर्णाली प्रदेश कार्यालय गण सुर्खेतमा दरबन्दी रहेका दाङ राजपुर गाउँपालिका–२ का अमरनाथ चौधरी छन् ।
उनी चैत २६ गतेदेखि गैरहाजिर छन् । सहायक हवलदारहरूमा राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर छन् । उनीहरू पनि चैतको विभिन्न मितिदेखि गैरहाजिर छन् ।
बाँकी १५ जना जवान र एक जना कार्यालय सहयोगी छन् । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सत्यपाटी संवाददाता । काठमाडौं