चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा नेपालमा झन्डै चार हजार वटा विरोध कार्यक्रम भएका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १० महिनामा तीन हजार ९६३ विरोध तथा प्रदर्शनका कार्यक्रम भएका हुन् ।
साउनपछि १२ पटक हड्ताल, १२ पटक चक्काजाम, ८१६ वटा तालाबन्दी, ७८२ वटा धर्ना, १३४ वटा अनशन, ११८ पटक बाटो अवरोध र २ हजार ८९ वटा विरोध र्याली भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश थापाले जानकारी दिए । उनका अनुसार १० महिनामा भएका विरोध प्रदर्शनका क्रममा देशभरि ७६ वटा गाडीमा आगजनी र ३१ वटा गाडीमा तोडफोड भएको थियो ।
यस्तै गाडी तोडफोड, आगजनीतर्फ ९ करोड ५१ लाख ४० हजार ३६५ रुपैयाँ र भौतिक पूर्वाधारतर्फ ४० करोड ७५ लाख ११ हजार ८८७ रुपैयाँ गरी कुल ५० करोड २६ लाख ५३ हजार २५२ रुपैयाँ अनुमानित क्षति भएको छ । विरोध प्रदर्शन गर्ने ६६६ जनालाई पक्राउ गरेकोमा १३६ जनालाई कानूनी कारबाहीमा ल्याएको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं