सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा वन डढेलोका घटनामा कमी, सबैभन्दा धेरै पाल्पामा

लुम्बिनी प्रदेशमा गत वर्षभन्दा यस वर्ष आगलानी तथा वन डढेलोका घटनामा कमी भएको पाइएको छ । गत वर्ष वैशाख २५ गतेसम्ममा यहाँका ४२१ स्थानमा डढेलो लागेकामा यस वर्ष जेठको ७ गतेसम्म २९३ स्थानमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत डिलाराम पौडेलका अनुसार यस वर्ष प्रदेशका १२ जिल्लाका १४ डिभिजन वन कार्यालय अन्तर्गतका २९३ स्थानमा ३९ दशमलव ७० हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएका छन् । गत वर्षभन्दा यस वर्ष मौसममा बदली भइरहेका कारण तथा गत वर्ष झैँ गर्मी पनि नभएका कारण डढेलोका घटनामा कमी आएको उनले बताए ।

‘डढेलोको उच्च जोखिम हुने समयमा मौसम बदली भइरह्यो, वर्षा पनि भयो जसका कारण डढेलो लागेका स्थानमा नियन्त्रण गर्न सहज पनि भयो,’ उनले भने, ‘सुख्खा याम लम्बिँदा डढेलोका घटना धेरै बढ्ने हुन्छ, यो वर्ष पानी परिरहेकाले त्यो अवस्था आएन, डढेलोबाट हुने क्षति कम भयो, प्रदूषण पनि व्यापक हुन पाएन, हामी गर्मी मौसमको सुरु देखिनै डढेलो न्यूनीकरणका लागि योजनाबद्ध ढङ्गबाट लागेका पनि थियौँ ।’

उनका अनुसार रूपन्देहीको २५ स्थानमा ५५६.१ हेक्टर क्षेत्रफल, अर्घाखाँचीको २१ स्थानमा १२७.०५ हेक्टर, रुकुमपूर्वको ६ स्थानमा ११२० हेक्टर, रोल्पाको ६ स्थानमा ३९.८० हेक्टर, प्युठानको १० स्थानमा ८१ हेक्टर, दाङ (दाङ)को २५ स्थानमा ३९७ हेक्टर, दाङ (देउखुरी)को ३९४.५० हेक्टर, बाँकेको ६ स्थानमा २५ हेक्टर, कपिलवस्तु (कपिलवस्तु)को ११ स्थानमा ७९.७५ हेक्टर वन क्षेत्रमा डढेलोको प्रकोपबाट घटना भएका छन् ।

त्यसैगरी कपिलवस्तु (गौतमबुद्ध)को ९ स्थानमा ७० हेक्टर, नवलपरासीको ७६ स्थानमा २५९ हेक्टर, पाल्पाको ६७ स्थानमा ७२६ हेक्टर, बर्दियाको ५ स्थानमा ३९.५ हेक्टर र गुल्मीको ११ स्थानमा ५७ हेक्टर वन क्षेत्रमा डढेलोको प्रकोपबाट घटना भएका छन् । डढेलोबाट रूपन्देहीमा १७ सय बोटबिरुवा जलेर नष्ट भएका छन् ।

त्यसैगरी अर्घाखाँचीमा बोटबिरुवामा सामान्य क्षति, दुई घर, एक गोठ, एक शौचालय, एक भैँसी, एक पाडो, नौ बाख्रा, ५९ कुखुरा जलेर नष्ट भएका छन् । त्यहाँ आगो लगाउने कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार डढेलोका कारण रुकुमपूर्वमा ३२७६ बोटबिरुवा जलेर नष्ट भएका छन् ।

त्यहाँ आगो लगाउने कार्यमा संलग्न दुई जनालाई कानुनी दायरामा ल्याइएको छ । सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा माथिबाट ढुङ्गा खसेर स्थानीय एक जना व्यक्ति पनि घाइते बनेका थिए । रोल्पामा सामान्य बोटबिरुवा क्षति भएको छ । प्युठानमा एक घर, एक गोठ जलेर नष्ट हुनुका साथै एक जना घाइते बनेका थिए ।

त्यसैगरी, दाङ (दाङ)मा एक गोठ, तीन परालका टौवा र करिब पाँच हजार बोटबिरुवा नष्ट भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार दाङ (देउखुरी), कपिलवस्तु (कपिलवस्तु) र बाँकेमा सामान्य बोटबिरुवामा क्षति पुगेको छ । कपिलवस्तु (गौतमबुद्ध)मा तीन वटा घर, दुई वटा गोठ जल्नुका साथै वन क्षेत्रमा सामान्य बोटबिरुवामा क्षति पुगेको छ । नवलपरासीमा ससाना बोटबिरुवाहरूमा सामान्य हानी नोक्सानी भएको उनले जानकारी दिए ।

पाल्पामा एक गोठ जलेको, १२ भारी खर जलेर नष्ट भएको, पाँच वटा रुख तथा अन्या साना बोटबिरुवा नोक्सानी भएको तथा एक जना सामान्य घाइते हुनुका साथै डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार बर्दियामा पातपतिङ्गर खर तथा साना बिरुवा जलेको र गुल्मीमा तीन वटा घरगोठ जलेर नष्ट हुनुका साथै सामान्य बोटबिरुवामा क्षति भएको छ ।

फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको छ । गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको सूचना अधिकारी पौडेलले बताए । उनले नेपालमा मानवीय कारणले नै बढी आगलागीका घटना हुने बताए ।

‘प्रायःगरी मानवीय कारणले नै आगलागीका घटना हुने गरेको पाइन्छ, ९७ प्रतिशत आगलागी तथा डढेलोका कारण मानवीय कारण नै हो, प्राकृतिक कारणबाट अत्यन्तै न्यून घटना हुने गरेको पाइन्छ,’ उनले भने । आन्तरिक कानुन तथा मामिला मन्त्रालयका अनुसार लुम्बिनीमा गत वर्ष वैशाख २५ गतेसम्म ४२१ स्थानमा आलगाली तथा वन डढेलोका घटना भएका थिए । जसमा पाँच जनाको ज्यान गएको थियो । यस वर्ष लुम्बिनीमा २९३ स्थानमा डढेलोका घटना भएका छन् भने एक जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १४:२९