दाङको तुलसीपुरमा कोठाभित्रै अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका–११ बाफुखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार बिहीबार राति सवा ९ बजे अचेत अवस्थामा फेला परेका थिए ।
गम्भीर अवस्थाका दुवैको उद्धार गरी प्रहरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो । एक जनाको घोराहीमा र अर्की किशोरीको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकका अनुसार दुवैले विषादी खाएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुवैजना कक्षा ११ मा अध्ययनरत रहेको खुलेको छ ।
दीपा शान्तिनगर गाउँपालिका–२ स्थित जनकल्याण माविमा र दिपु घोराहीको एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनीहरु नाताले मामा–फुपूका छोरी अर्थात् दिदीबहिनी हुन् । बिहीबार दिउँसोमात्रै दिपु घोराहीबाट दिपाको कोठामा आएकी थिइन् । सँगै बसेका उनीहरु राति अचेत अवस्थामा फेला परेपछि अस्पताल पुर्याइएको प्रहरीले बताएको छ ।
सत्यपाटी