सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न गृह सुरक्षा विभागलाई आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन्, ‘प्रशासनले हार्वर्ड कानुन पालना गर्न असफल भएका कारण अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम रद्द गरेको छ । यो देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनी हो ।’ हाल, विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ ।

अन्यथा, उनीहरूले देश छोड्नुपर्ने हुन सक्छ । विगत केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर विवाद भइरहेको थियो । गृह सुरक्षा विभागले अप्रिलमा हार्वर्डलाई अप्रिल ३० सम्ममा विदेशी विद्यार्थीहरू संलग्न गैरकानूनी र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध गराउन भनेको थियो ।

तर, विश्वविद्यालयले उपलब्ध गराएको रेकर्डसँग प्रशासन सन्तुष्ट छैन । हार्वर्ड विश्वविद्यालयले भने विज्ञप्ति जारी गरी यो कदमलाई ‘अवैध’ भनेको छ । यस आदेशविरुद्ध विश्वविद्यालयले अदालतमा मुद्दा पनि दायर गरेको छ । विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब सिर्जना गरेर शैक्षिक कार्यलाई नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ ।

हार्वर्ड विश्वविद्यालयले भनेको छ, ‘हामी हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वान् भर्ना गर्ने क्षमता कायम राख्ने हाम्रो संकल्पमा प्रतिबद्ध छौँ । १४० भन्दा बढी देशबाट आएर विश्वविद्यालय र यस राष्ट्रलाई अत्यन्तै धनी बनाउने ती विद्यार्थी र विद्वान्हरूका लागि ।’ हाल त्यहाँ लगभग ६ हजार ८०० विदेशी विद्यार्थीहरू अध्ययनरत छन् । यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।

विश्वविद्यालयले अगाडि भनेको छ, ‘हामी हाम्रो समुदायका सदस्यहरूबाट मार्गदर्शन र समर्थन खोज्न द्रुत गतिमा काम गरिरहेका छौँ । यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने खतरा छ । यसले हार्वर्डको शैक्षिक र अनुसन्धान अभियानलाई पनि कमजोर बनाउँछ ।’ ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई असर गर्न सक्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १३:५६