प्रहरी प्रधान कार्यालयले विवादित एसएसपीहरुलाई डिआइजी बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ विवादित एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका ११ जना बढुवा सिफारिस हुँदा धेरै जसो विवादित एसएसपीहरु परेका छन् ।
ओम राना, सुरेन्द्र गुरुङ, सन्जीवदास शर्मा, दीलीप रेग्मी, दिलिपसिंह देउवा विवादित पात्र हुन् । गुरुङ एसपी हुँदा गोरखामा जुवाडेबाट बरामद गरिएको पैसा नै लुकाएको पुष्टि भएपछि छानबिनका लागी तानिएका थिए । दसैं–तिहारमा जुवाडे पक्राउ गरी उनीहरूको पैसा लुकाएको विषय छानबिनबाट पुष्टि भएपछि उनको ठाउँमा शेखर खनाललाई गोरखाको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो ।
रामेछापमा कार्यरत रहँदा डिएसपी सञ्जिव शर्मा दासले रामेछापकी बालिका सुन्तली तामाङको बलात्कार–हत्या अभियुक्तलाई समेत जोगाएको आरोप लागेको थियो । प्रहरी अनुसन्धानले नै दासले अभियुक्तलाई जोगाएको खुलेपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले उनलाई निलम्बन गरेका थिए । निलम्बनमै रहेका बखत उनलाई एसपीमा बढुवा गर्ने विवादास्पद निर्णय भएको थियो ।
सुन्तली तामाङको हत्यारालाई कुमोद ढुंगेलको टोलीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । ओमबहादुर राना डिएसपी हुँदा नै विवादमा आएका थिए । बौद्ध र रसुवामा कमाण्ड गर्दा उनी धेरै नै विवादमा आएका थिए । रक्तचन्दन तस्करलाई सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यो घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा उनी जागिएका थिए ।
एसएसपी रेग्मी र एक महिलाबिच भएको विवादित कुराकानीका बाहिर आइसकेको छ । उनलाई नेपाल प्रहरीले यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो । उता एसपी देउवा बारा जिल्लाको प्रमुख हुँदा मदिरा सेवन गरी गाडी ठोक्काएर दुर्घटना गराएको विषयमा प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो ।
प्रहरी प्रधान कार्यालयले एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं