बाराको सिमरा विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा एक यात्रुको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीय राजुकुमारी चौधरीको मृत्यु भएको हो । घटना मंगलबार दिउँसो भएको बताइएको छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि जहाजमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । सँगै उनका श्रीमान् जंगबहादुर चौधरी पनि थिए । मंगलबार अपराह्न चार बजे बुद्ध एयरको जहाजमार्फत उनीहरू काठमाडौंका लागि उडेका थिए ।
उडेको केही मिनेटमै राजुकुमारी अचेत भइन् । जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेपछि तत्काल उनलाई केएमसी अस्पताल सिनामंगल पुर्याइएकोमा चिकित्सकहरूले उनको निधन भइसकेको घोषणा गरेका थिए । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं