२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

भारतमा फेरि सुरू भयो बिजुली निर्यात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ ७ गते बुधबार

जलविद्युत् उत्पादन उल्लेख्य रूपमा वृद्धि भएको छ र त्यसले नेपाल विद्युत् प्राधिकरणलाई फेरि भारतमा बिजुली सुरू गरेको छ । पछिल्ला दिनमा वर्षाका कारण जलस्रोतमा बहाव बढ्दा त्रिशूली, कालीगण्डकी, मादीजस्ता नदीहरूमा सञ्चालित आयोजनाहरूको उत्पादन फेरि बढेको छ ।

प्राधिकरणले शनिबार रातिदेखि भारतको इनर्जी एक्सचेन्जमार्फत प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्न थालेको हो । राति र बिहानको समयमा आन्तरिक खपत कम हुने भएकाले सो समयमा भारतमा निर्यात गर्न थालिएको हो । शनिबार राति १२ बजेदेखि सुरु गरिएको निर्यात अन्तर्गत शनिबार २०० मेगावाट, आइतवार १५० मेगावाट र सोमवार १७० मेगावाटसम्मको बिजुली भारत पठाइएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक खपत अझै पनि साँझको समयमा उच्च हुने भएकाले दिउँसो र साँझ भारतबाट आयात भने रोकिएको छैन । ‘बिहान र रातिको समयमा खपत कम हुने भएकाले त्यसबेला निर्यात गरिएको हो । दिउँसोको खपत अझै उच्च छ, त्यसैले भारतबाट आयात पनि जारी छ,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने । यसैबीच, नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा पनि बिजुली निर्यातको तयारी थालेको छ ।

गत वर्ष असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौता अनुसार आगामी जुन १५ देखि नेपालले बंगलादेशलाई दैनिक ४० मेगावाट विद्युत् बेच्ने तयारी गरिरहेको छ । प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार मनसुन सुरू भएसँगै उत्पादन बढ्ने देखिएकाले सम्झौता अनुसार बंगलादेशमा बिजुली पठाउने योजना अघि बढाएको प्राधिकरणले जनाएको छ ।

नेपालको हालको कुल आन्तरिक उत्पादन करिब १,५०० मेगावाट पुगेको छ भने साँझको समय खपत २,००० मेगावाट आसपास रहने प्राधिकरणको भनाई छ । यदि आगामी दिनमा वर्षा अझ निरन्तर भइरह्यो भने आन्तरिक माग पूरा गरेर नेपालले भारत र बंगलादेश दुवै देशमा निर्यात गर्न सक्ने सम्भावना देखिएको छ । हाल नेपालमा ३५ सय मेगावाट बिजुली उत्पादन भएर प्रसारण लाइनमा जोडिएको छ । वर्षातमा १,५०० मेगावाट भारतलाई दैनिक बिजुली निर्यात गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार